तस्बिरमा साउनको पहिलो हप्ता सुपादेउराली

प्रेम खड्का

साउनको पहिलो हप्तामा देखिएको अर्घाखाँची जिल्लाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सुपा देउराली मन्दिर लगायत। 

सुपा देउराली बारेमा
सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ।
तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।
दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन्। परापूर्वकालदेखि बटुवा, लाहुरे विद्यार्थीको चाहना पूरा गर्दै आएकी यी देवीको व्यवस्थित मन्दिर २०४२ सालमा मात्र निर्माण भएको थियो। मन्दिरमा खस्ने धारोको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ। मन्दिर प्राङ्गणका विश्रामस्थल देवी देउरालीका भगिनी शृङ्गार रहेका छन्। पक्की बाटोको दुर्लभ निम्सरो डिलमा अवस्थित मन्दिर प्राङ्गणमा पहिलो पदार्पण गर्ने जुनसुकै यात्रु मन्दिरको दुर्लभ चुनौती देखेर सहजरूपमा आश्चर्य प्रकट गर्छन्।
हप्ताको प्रत्येक शनिबार भाकल गरिएका बलि चढ्ने सुपा देउराली मन्दिर एकादशी, औंसी र पूणिर्माबाहेक अरू सबै समयमा पनि भाकल चढाउन खुला रहन्छ। त्यही भाकल, भेटी सङ्कल्पलाई आयस्रोतको आधार मानिन्छ मन्दिरको लागि। मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ-बिहान पाठ-पूजा गर्न ब्राहृमणको व्यवस्थासमेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो। पिउने पानी, यात्रु आश्रयको लागि विश्रामको व्यवस्था भएको सुपा देउराली मन्दिर अर्घाखाँचीको सम्पदा धरोहर धार्मिक शृङ्गार हो। चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर।