अर्घाखाँचीमा नगरपालिका – गाउँपालिका पुनसंरचनाको लागि दलहरुद्वारा संयुक्त प्रस्ताव तयार, यसरी गरिने विभाजन भयो

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नगरपालिका तथा गाउँपालिका पुनसंरचनामा जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले संयुक्त प्रस्ताव तयार पारेका छन् । हरिप्रसाद भुसालले समाचार लेखेका छन् । 
नक्सा । फेसबूकबाट 
एउटा नगरपालिका र ३५ गा.वि.स. रहेको अर्घाखाँचीमा दलहरुले दुई  नगरपालिका सहित चार गाउँ पालिकाको प्रस्ताव सर्वसम्मत पास गरेका हुन् ।
जिल्लामा क्रियाशिल  नेपाली काँग्रेस,  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्टिय जनमोर्चा  सहितका दलहरुले अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका रहेकोमा जिल्लाको पश्चिमी क्षेत्र समेट्ने गरी डमरु दह नगरपालिकाको प्रस्ताव गरेका छन् । जुन नगरपालिकामा हालको ठाडा, सिद्धारा, जलुके, जुकेना, सिमलपानी, सुवर्णखाल, सितापुर गा.वि.स. रहने र यो गाउँपालिकाको केन्द्र ठाडा रहने दलहरुको प्रस्ताव छ ।
त्यसैगरी हालको पणेना ,पोखराथोक, खिदीम, मैदान, धातिबांग, पटौटी, पाली , अड्गुरी र चिदीकाको मधुलेख लाई समेटेर दुर्गाफाँटमा केन्द्र रहनेगरी पाणिनी गाउँपालिकाको प्रस्ताव गरेका दलहरुले धारापानी , ढाकाबांग, नुवाकोट, खिल्जी, असुरकोट, धनचौर गा.वि.सलाई जोडेर भूमिकास्थान गाउँपालिकाको प्रस्ताव गरेका छन् । जसको केन्द्र पछि अध्ययन गरेर तय गर्ने संयुक्त प्रस्तावमा उल्लेख गरिएको छ ।
त्यसैगरी हंसपुर, गोखुंगा, बागी, खन, खनदह, मरेंगका केहि वाड, अर्घातोषका केहि वाडहरुलाई मिलाएर मालारानी गाउँपालिका बनाउने र सोको केन्द्र खनदह  राख्ने प्रस्ताव गरेका दलहरुले चिदीका, बल्कोट, केरुंगा, छत्रगञ्ज, ठुलापोखरा , भगबती, मरेंगका केहि वडा, अर्घातोषका केहि वडाहरुलाई समेटेर छत्रेश्वर गाउँपालिकाको प्रस्ताव गरेका छन् ।
त्यसैगरी हालको पाली गा.वि.स.को वलेवाङ्ग क्षेत्र र ढिकुरा गा.वि.स.लाई सन्धिखर्क नगरपालिकामा थप गर्ने दलहरुको प्रस्ताव छ  । 
राजनीतिक दलहररुबाट सर्वसम्मत प्रस्ताव पेश भएपछि आफुहरुलाई धेरै सहज भएको भएपनि प्राविधिक रुपमा आफुहरुले अध्ययन गरिरहेको अर्घाखाँची जिल्लाका स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले बताइन । ६ तहको संरचना हुने संभावना बलियो रहेको बतउदै गौतमले आफुहरु अन्तिम गृहकार्यमै लागिरहेको जानकारी दिइन । यद्यपी यसको अन्तिम टुंगो यही साउन १९ गते सन्धिखर्कमा हुने बृहत कार्यशालाले गर्ने उनको भनाई रहेको छ ।