निरन्तर परेको पानीका कारण आएको बाढी र पहिरोका कारण चार जिल्ला बढी प्रभावित

निरन्तर परेको पानीका कारण आएको बाढी र पहिरोका कारण चार जिल्ला बढी प्रभावित देखिएको छ। पहिरोको प्रकृति र मानवीय क्षतिका आधारमा गृह मन्त्रालयले प्यूठान, रोल्पा, गुल्मी र बागलुङलाई बढी प्रभावितको सूचीमा राखेको हो।
गृह मन्त्रालयले गुल्मी, पाल्पा, मकवानपुर, रूपन्देही, अर्घाखाँची, नवलपरासी, काठमाडौं, भक्तपुर, सर्लाही, दोलखा लगायतका ११ जिल्लालाई बाढीपहिरो प्रभावित जिल्लाको सूचीमा राखेको छ। 
‘बाढीपहिरोले पारेको मानवीय र भौतिक क्षतिको मूल्यांकनका आधारमा १५ जिल्ला प्रभावित देखिएको छ,’ गृहका प्रवक्ता यादव कोइरालाले भने, ‘चार जिल्ला बढी नै प्रभावित देखिएकाले तत्काल ती जिल्ला केन्द्रित रही खोजी, उद्धार र राहतलाई तीव्रता दिएका छौं।’
बुधबार बेलुकासम्मको तथ्यांकअनुसार प्यूठानमा ३२ जनाको मृत्यु भएको छ। प्यूठानको फोक्ली तथा खवाङ फोक्ली-६ को मार्खे बढी प्रभावित छन्। मार्खेमा ठूलो पहिरो जाँदा ४ देखि ७ जना हराइरहेका छन्। गृहका अनुसार पहिरोमा परी ५० घर पूर्ण क्षति भएको छ भने सय घर जोखिममा छन्। 
बुधबारसम्म बागलुङमा ६ जनाको मृत्यु भएको रेकर्ड गृहमा आएको छ। बागलुङको बान्द्रे दोभान तथा अधिकारी चौरको ४, ५ र ७ नम्बर वडा पहिरोबाट बढी प्रभावित छन्। उक्त क्षेत्रमा ७० घर बगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बुङगे दोभानमा रहेको प्रहरी चौकीसमेत पहिरोले बगाएको छ। 
सुरक्षाकर्मीले रोल्पामा ४ वटा शव फेला पारेका छन्। त्यहाँ रहेको इलाका प्रहरी कार्यालय उवा र प्रहरी चौकी गाम पहिरोको जोखिममा परेपछि प्रहरी अन्यत्र सरेका छन्। गृहका अनुसार गुल्मीमा ७ जनाको मृत्यु भएको छ। उल्लीबजारमा ३ घर बगेका छन् भने १९ घर लडेका छन्। 
प्रवक्ता कोइरालाका अनुसार बाढी प्रभावित क्षेत्रमा फसेकाको उद्धार, हराएकाको खोजी र विस्थापित भएकाहरूको राहतका लागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एकीकृत रूपमा परिचालन गरिएको छ।
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बाढीपहिरोको बढी प्रभाव देखिएको पूर्व, पश्चिम र मध्यमा उद्धारका लागि सुरक्षा जनशक्तिसँगै तीनवटा हेलिकप्टर परिचालित रहेको जानकारी दिए। पूर्वमा एउटा र मध्यका लागि सुर्खेतबाट हेलिकप्टर परिचालन गरिएको छ।
‘मध्यमा आवश्यक परिचालनका लागि काठमाडौंमा एउटा हेलिकप्टर तयारी अवस्थामा राखेका छौं,’ कार्कीले कान्तिपुरसँग भने।
प्रहरी प्रवक्ता माधव जोशीले समस्या देखिएको स्थानमा स्थानीय र जिल्लातहबाट तत्काल सुरक्षाकर्मी परिचालित भइरहेको जानकारी दिए। बाढीपहिरोबाट बढी प्रभावित जिल्ला केन्द्रित गरी सुरक्षाको समन्वय भइरहेको उनले बताए। कान्तिपुरमा समाचार छ ।