टर्कीका राष्ट्रपतिद्वारा आफ्नो अपमान गरेको विषयसँग सम्बन्धित दुई हजार मुद्दा फिर्ता लिने घोषणा

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले आफ्नो अपमान गरेको विषयसँग सम्बन्धित दुई हजार मुद्दा फिर्ता लिने घोषणा गरेका छन् ।
असफल सत्ता कब्जाका क्रममा मारिएका एक सयभन्दा बढी व्यक्तिको सम्झनामा राजधानी अंकारामा गरिएको कार्यक्रममा राजनीतिक सदभाव स्वरुप यो मुद्दा फिर्ता लिइएको घोषणा उनले गरे ।
गएको दुई वर्षमा राष्ट्रपतिको अवहेलना गरेको नाममा यस्ता दुई हजार मुद्दा दायर गरिएको थियो । कार्यक्रममा एर्दोगानले अमेरिका र यूरोपीय सरकारहरुको पनि कडा आलोचना गरे ।
टर्कीको लोकतन्त्रको सट्टा सत्ता कब्जा गर्नेप्रति चिन्ता व्यक्त गर्नेहरु कहिल्यै टर्कीको मित्र हुन नसक्ने चेतावनी दिए ।
उनले एक अमेरिकी कमाण्डरले यस षडयन्त्रमा साथ दिएको आरोप पनि लगाए । अमेरिकाले भने एर्दोगानको यस आरोपको खण्डन गरेको छ । (एजेन्सी)