-अर्जुन पन्थी
छत्रगञ्ज, अर्घाखाँची । छत्रगञ्जमा उपस्थित सात गाविसका करिब ३ सय प्रतिनिधि, सर्वसाधरणको उपस्थितिले “छत्रगञ्ज केन्द्र” र “छत्रेश्वर” नाउँमा सहमति जनाएका छन् । तर केन्द्र कहाँ राख्ने भन्नेबारेमा प्राविधिक, राजनीतिक, भौगोलिक विषय पेचिलो बन्दै जाने संभावना छ ।
रानीचापादेखि पाटीसम्मको भूभागमा सबैको सहमति देखिएपनि त्यहाँ मापदण्ड अनुरुपको १४ रोपनी जग्गा नहुँदा समस्या थपिएको हो । यो सन्दर्भमा पूर्वी क्षेत्रले ‘कोल्दी’ र पश्चिम उत्तर क्षेत्रले ‘छत्रकोट’ लाई केन्द्रको दावी गरिरहेका छन् । प्रहरीको गुल्म लगायतका पूर्वाधार खडा गर्नुपर्ने भएकाले जग्गा आधारभूत सवाल बनेको छ ।
भूगोल पनि राजनीतिजस्तै पेचिलो बनेको छ । ठूलापोखरा, भगवती, अर्घातोष, छत्रगञ्जको आधाभाग र मरेङका गाभिने क्षेत्रका वासिन्दाले रानीचापाभन्दा उता नजाने बरु रातापोखरा झर्ने अडानमा छन् । यदि रानीचापाभन्दा उता जानुपरेमा ‘छत्रकोट’को अडानबाट तल नझर्ने त्यो भेगका मानिसको छ । भने पूर्वीभेग चिदिका, बल्कोट, केरुङ्गा र छत्रगञ्जको आधाभागले कोल्दीलाई जोड दिएका छन् । यसैविचमा जिल्ला प्रशासनबाट कोल्दीको निरिक्षण पनि गरिएको छ । रातापोखराको पनि उपयुक्त समयमा गर्ने भनिएको छ ।
‘छत्रकोट’ र ‘कोल्दी’को विचको विकल्प त पाटी-रानीचापा क्षेत्र भएपनि जग्गा नहुँदा रातापोखराले बाजी मार्ने संभावना पनि छ । कोही दानवीर भेटिएमा पाटी-रानीचापा क्षेत्र सबैको सहमतिमा पर्नेछ । तर भूगोल र राजनीतिक दाउपेचमा कसले बाजीमार्छ अहिले यसै भन्न सकिँदैन ।