अमेरिकी रिपब्लिकन पार्टीका ५० जना राष्ट्रिय सुरक्षा विशेषज्ञहरुले राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पसँग अमेरिकाको राष्ट्रपति हुने कुनै अनुभव, मूल्य र चरित्र नै नभएको आरोप लगाएका छन् ।
सुरक्षा विशेषज्ञहरुले हस्ताक्षरसहितको खुला पत्र सार्वजनिक गर्दै राष्ट्रपतिका उम्मेदवार ट्रम्प चुनावमा विजयी भए अहिलेसम्मकै सबैभन्दा लापरबाह राष्ट्रपति सावित हुने दाबी गरेका छन् ।
यो समूहमा सीआईएका पूर्व निर्देशक माइकल हेडनसमेत सहभागी छन् । पत्रमा डोनाल्ड ट्रम्पका लागि आफूहरुले मतदान नगर्ने उल्लेख छ ।
यसअघि पनि केही वरिष्ठ रिपब्लिकन नेताहरुले ट्रप्रति असहमति जनाइसकेका छन् । सुरक्षा विशेषज्ञहरुले स्वतन्त्र विश्वका नेतृत्व गर्ने नैतिक अधिकारलाई ट्रम्पले कमजोर सावित गर्ने दाबीसमेत गरेका छन् । उनीहरुले अमेरिकी संविधान, कानुन र संस्थाका बारेमा सामान्य जानकारीसमेत ट्रम्पसँग नभएको जिकीर गरेका छन् ।
पत्रमा हस्ताक्षर गर्नेहरुमा अमेरिकाको राष्ट्रिय जाँच एजेन्सीका पहिलो निर्देशक जोन नेगरोपोटे, पूर्व उपविदेशमन्त्रीसमेत रहेका विश्व बैंकका पूर्व अध्यक्ष रोबर्ट बी जोलिएकसमेत छन् । आन्तरिक सुरक्षाका दुई पूर्वसचिव टोम रिज र माइकल शेरटाफले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपतिका लागि ट्रम्पले डेमोक्र्याट्रिक उम्मेदवार हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गर्दछन् । (एजेन्सी)