टोप बहादुर रायमाझीकी बुहारी ज्ञानुको ४५ बर्षको उमेरमा दिल्लीमा निधन

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पुर्वमन्त्री एवम नेकपा(माओवादी केन्द्र) का नेता टोप बहादुर रायमाझीकी भाइ बुहारी, राम बहादुर रायमाझीकी श्रीमती ज्ञानु थापा रायमाझीको उपचार क्रममा भारतको राजधानी नयाँ दिल्लीमा निधन भएको छ । 
लामो समय देखि जन्डिसले सिकिस्त परेकी ज्ञानुको यही श्रावण २३ गते राती ४५ बर्षको उमेरमा निधन भएको हो । ज्ञानुको काठमाडौंमा उपचार हुन नसक्दा दिल्लीमा थप उपचारको लागि लगिएको थियो । 
उनी माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनकी अर्घाखाँची जिल्ला उपाध्यक्ष थिईन् । 
सन्धिखर्क नगरपालिका वडा न:१२ खाडा, अर्घा घर भै हाल सन्धिखर्क वडा नं १ न्युरोड ( हललाईन ) निबासी ज्ञानु श्री समाजकल्याण निमाबि सन्धिखर्क- १ मा शिक्षिका थिईन् । 
स्व. ज्ञानुका परिबारजन पति राम बहादुर रायमाझी, १ छोरा १ छोरी, जेठाजु टोप बहादुर रायमाझी अन्तिम श्रद्धाञ्जली र अन्त्यष्टीको लागि दिल्ली पुगि सकेका छन् । 
अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार अहिले दिल्लीमा आफन्त एवम नेपाली समुदायले दिबंगतको अन्तिम श्रद्धाञ्जली दिईरहेका छन् । उता ज्ञानुको निधनको खबरले अर्घाखाँची जिल्लाको सन्धिखर्क, अर्घा, माईतीघर आँपखोला तथा सिंगो जिल्ला नै शोकमा रहेको छ ।