भारतमा बढ्दो भ्रूण हत्या रोक्न आज छोरी दिवस मनाईदैछ । भारतका महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको नेतृत्वमा छोरी बचाउ अभियानअन्तर्गत छोरी दिवस सप्ताह मनाउन लागिएको समाचार संस्थाहरुले जनाएका छन् ।
लिंग परीक्षण गरी छोरी भए भ्रूणमै हत्या गर्ने क्रम घटाउन, देशको लैंगिक अनुपात सन्तुलित बनाउन साथै छोरीलाई शिक्षित बनाउन सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको हो ।
छोरी, बुहारी तथा नातिनीलाई विशेष महत्व दिँदै समाजिक संजालमा पनि यो दिवस मनाउन अभियान चलाइएको छ । अभियानका क्रममा सामाजिक संजालमा छोरी, बुहारी तथा नातिनीसँगको फोटो पोस्ट गर्न आग्रह गरिएको छ ।
भारतमा वर्षेनी छोरीको लाखौं भ्रूणको हत्या गर्ने तथा दाइजो नल्याएकै कारण हरेक दिन २२ महिलाको हत्या हुने गरेको छ ।
यस्तै हरेक २२ मिनेटमा एक महिलाको बलात्कार हुने र हरेक ५ मिनेटमा एक महिला घरबाटै हिंसामा पर्ने गरेको तथ्यांक छ । छोरीको भ्रूण हत्या गर्ने चलन नेपालमै पनि विकराल बन्दै गएको छ ।(एजेन्सी)