टर्कीद्वारा रसियालाई आइएस विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान

 टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस)विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ ।
रसियाको भ्रमणमा पुगेका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूर्ण वार्ताकाक्रममा टर्कीले सो आग्रह गरेको हो ।
यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएसविरुद्धको कारबाहीमा रसियासँग मिलेर संयुक्त कारबाही गरिने टर्कीका विदेशमन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
यो प्रस्ताव पहिलोपटक टर्कीको तर्फबाट आएको भन्दै यसका लागि आवश्यकमात्रामा छलफल हुन बाँकी नै रहेको पनि उनले बताए ।
उनले भने- यो प्रस्ताव पहिलोपटक टेबलमा आएको छ र यस विषयमा विस्तृत छलफल गरी सहमतिमा पुगिनेछ ।
टर्कीका राष्ट्रपति रेसेप रसिया भ्रमणमा छन् । उनले आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनसँग भएको भेटवार्तापछि रसियाले टर्कीसँगको आर्थिक सहकार्यलगायतका सम्बन्धहरु पुनःस्थापना गर्न तयार भएको जानकारी दिएका थिए थियो ।
गत नोभेम्बरमा सिरियाको सीमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपन आएको थियो ।
गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया भएको हो ।
सेन्ट पिटस्बर्गमा यी दुई नेताबीच भएको यस भेटघाटमा एर्डोगानले असफल सैन्य विद्रोहपछि लगत्तै पुटिनले गरेको टेलिफोन वार्ताको लागि घन्यवादसमेत दिएका थिए ।
यस सैन्य विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौं नागरिकलाई एर्डाेगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच आएको चिसोपनको विषयलाई लिएर एर्डोगान रसिया भ्रमणमा गएको बताइएको थियो ।
एर्डोगानको रसिया भ्रमणबाट दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ ।
यसपछि टर्कीले पनि आइएसविरुद्धको कारबाही संयुक्तरुपमा गर्नको लागि रसियालाई आह्वान गरेको हो । रासस/एएफपी