सन्धिखर्कमा प्रभातफेरी, वक्तित्वकला प्रतियोगिता सम्पन्न (भिडियो, तस्बिर सहित )

भिडियो: सहयोगी बिसीबाट 
अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची । जिविस, नगरपालिका, युएनएफपिएको सहयोग, राष्ट्रिय युवा परिषद र जिल्ला युवा समितको संयोजनमा विभिन्न पार्टी निकटका युवा संगठन तथा युवाको क्षेत्रमा काम गर्ने संघ संस्थाको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम भएका छन् ।
यि संस्थाको आयोजनामा सन्धिखर्कमा प्रभातफेरी निकालिइएको थियो । शान्तिवगैंचाबाट सुरु भएको -याली बजार परिक्रमा गरि चुत्रावेशीको पुरानो बसपार्कमा गएर कोर्ण सभामा परिणत भएको थियो ।
कोणसभामा राष्ट्रिय युवा परिषद्का अध्यक्ष लिलबहादुर विक, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, युवा संघका जिल्ला अध्यक्ष गोविन्द आचार्य, वाइसियलका केन्द्रीय सदस्य ठाकुर सौराग, अखिल नेपाल युवक संघका अध्यक्ष कविराम खनाल, नयाँ शक्ति नेपाल निकट राष्ट्रय युवा अभियानका अध्यक्ष विष्णु ढुंगना, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले युवाहरुलाई रोजगारी प्रदान गर्ने खालका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताए ।  उनीहरुले देशमा स्थायी सरकार बन्न नसक्दा विकास निर्माणका कामले तव्रता पाउन नसकेको  बताए ।  देशमा प्रशस्त संभावना हुँदाहुँदै पनि दलहरुको उदासिनताका कारण युवाहरु विदेश पालायन हुनुपरेको उनीहरुको भनाई थियो ।
युवाहरुको संयुक्त आयोजनामै सन्धिखर्कमा ‘गरिवी उन्मुलनमा युवा प्रतिवद्धा, उत्पादन र उपभोगमा आत्मनिर्भरता’ विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा जनताकृष्ण उच्च मावि विद्यार्थी रामप्रसाद घिमिरे प्रथम, जनज्योति उच्च माविका विजय आचार्य द्वतिय, पाणिनि वहुमुखी क्याम्पसकी विद्यार्थी संगिता परियार तृतिय र शिबमदन उच्च माविकी निर्मला पोख्रेल सान्त्वना भएकी छिन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सन्त्वना  हुनेलाई क्रमश ३ हजार, दुई हजार, एकहजार  र पाँच सय रुपैयाँ र प्रमाणले पुरस्कृत गरिएको छ । प्रतियोगितामा १० ओटा विद्यालयका विद्यार्थी सहभागी थिए ।
प्रतियोगिताको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले दिप प्रज्वलन गरेर उद्घाटन गरे । कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत हरिशचन्द्र भुसाल, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक  चोपलाल बेल्वासे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार  हरिप्रसाद भुसालले गरेका थिए ।