भारतका विभिन्न सहरमा सिसाको माड लगाएको चंगाको धागोले काटेर तीनजनाको मृत्यु भएको छ ।
मारिनेमा तीन र चार वर्षका दुईजना बालक पनि छन् । उडिरहेको चंगाको धागोले उनीहरुको घाँटी काटेको थियो ।
मृत्यु हुने दुई बालकले कारबाट बाहिर हेरिरहेकाबेला चंगाको धागोले उनीहरुको घाँटी रेटेको थियो भने अर्का २२ वर्षे युवक मोटरसाइकल चलाइरहेकाबेला त्यसरी नै घाँटी रेटेको थियो ।
नयाँदिल्लीमा चंगाको धारिलो धागोमा बेरिएर एकजना प्रहरी घाइते भएका छन् ।
घटनापछि दिल्लीमा सिसाको माड लगाएको धागोसहितको चंगा उडाउन रोक लगाएको छ ।
गत वर्ष पनि भारतमा यस्तै घटनामा परी केहीको मृत्यु भएको थियो भने सयौं चरासमेत घाइते भएका थिए ।
दिल्लीको जीवजन्तुसम्बन्धी उपचार गर्ने एक अस्पतालले प्रत्येक वर्ष ८ हजार घाइते चराको उपचार गर्ने गरेको जनाएको छ ।
नेपाल, भारतलगायतका मुलुकमा चंगाको धागोमा सिसाको माड लगाएर चंगा उडाउने गरिन्छ । (एजेन्सी)