इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ३७ जनाको मृत्यु भएको छ ।
राजधानी रोमनजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ ।
भूकम्पमा परी अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।
अमाट्रिसे सहरका मेयरकाअनुसार सहरको आधाभाग पूर्णरुपमा ध्वस्त भएको छ ।
यस्तै, अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको बताइएको छ । पेरुगिए सहरको आधाभाग नै ध्वस्त भएको बताइएको छ ।
स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेको थियो ।
भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो ।
भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको थियो । इटालीमा सन् २००९ मा गएको ६.३ म्याग्निच्यूडको भूकम्पमा परी तीन सयजनाले ज्यान गुमाएका थिए । एजेन्सी