भारतमा पत्नीको शव बोकेर १० किलोमिटरसम्म हिँडे गरिब नागरिक
भाद्र ९ गते, २०७३ मा प्रकाशित
विश्व अर्थतन्त्रको एउटा खम्बाका रुपमा आफूलाई उभ्याउने भारत मै गरिबी र अव्यवस्थाका चरम नमूनाहरु प्रकाशमा आउन छाडेका छैनन् ।
बुधबार एक गरिब नागरिकले आफ्नी पत्नीको शव १० किलोमिटरको दुरीसम्म एक्लै काँधमा बोकेर हिँडेको दृष्य भारतीय टेलिभिजन च्यानलहरुमै प्रशारण भएपछि भारतभित्रको अव्यवस्था र नागरिकप्रति सरकारी संयन्त्रको उदासिनता उजागर भएको हो ।
भारतीय संचारमाध्यमका अनुसार उडिसाको भवानीपुरास्थित अस्पतालमा उपचारकै क्रममा पत्नीको मृत्यु भएपछि दाना माझी नाम गरेका ती पुरुषले अस्पताल प्रशासनसँग शवलाई आफ्नो गाउँसम्म लैजाने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । शव बाहनलाई तिर्ने रकम नभएका कारण उनले अस्पताल प्रशासनसँग सहयोग माग गरेका थिए ।
शव लैजान अस्पतालले सवारी साधनको व्यवस्था नगरिदिएपछि उनले खर्चको अभावमा काँधमै बोकेर पत्नीको शव घरसम्म लैजाने निधो गरे । १२ वर्षीय छोरीसमेतलाई साथ लिएर उनी पत्नीको शव बोकेर निरन्तर हिँडिरहे ।
बाटोमा कयौं मानिस रमिते बने । तर कसैले मद्दत गरेनन् । स्थानीय संचारकर्मीले घटनाबारे थाहा पाएपछि स्थानीय प्रशासनसमक्ष जानकारी गराए । स्थानीय प्रशासनले शव बाहनको बन्दोबस्त गरेर दाना माझीलाई सहयोग उपलब्ध गराउन पुग्दा उनले पत्नीको शव १० किलोमिटरसम्म बोकिसकेका थिए ।
उनले बाँकी ५० किलोमिटरको बाटो भने स्थानीय प्रशासनले उपलब्ध गराएको शव बाहनबाटै तय गरेको बताइन्छ । (एजेन्सी)