जातिय समता समाजको दलित चेतना अभिबृद्वि सम्बन्धि प्रशिक्षण सन्धिखर्कमा सम्पन्न

 गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । जातिय समता समाज जिल्ला समिति अर्घाखाँचीको आयोजनामा दलित चेतना अभिबृद्वि सम्बन्धि तिन दिने प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
जिल्लाका बिभिन्न ठाउँबाट समता समाजका नेता तथा कार्यकर्ताहरु सहभागि रहेको प्रशिक्षण कार्यक्रमको राष्ट्रिय जनमोर्चाका नेता तथा जातिय समता समाजका संस्थापक अध्यक्ष सन्त बहादुर नेपालीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन पछि मन्तव्य राख्दै नेता नेपालीले दलित उत्पीडित र निमुखा जनताहरुको हक अधिकारको लागी बर्गिय आन्दोलनको बिकल्प नभएको भन्दै सबै जनताहरु अग्रसर भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
उहाँले समाज बदल्नको लागी अघि बढेको हाम्रो यात्रामा तत्काल केहि असहज देखिएता पनि भोलीका दिनहरुमा सत्यको बिजय हुने भन्दै जातिय सामन्तबाद र साम्राज्यबादका बिरुद्व लड्न शसक्त संगठनको निर्माण गर्नु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमा मनतब्य राख्दै राजमो केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झबिलाल थापाले अहिलेको युगमा संघर्षबिना कुनै बिजयी हात नपर्ने बताउँदै आफ्नो अधिकारको लागी आफै सचेत हुनु पर्ने भन्दै समाजिक कु प्रथाको अन्त्यको निम्ती सबै एक जुट हुनुपर्नेमा जोड दिनुभएको थियो । 
 तिन दिन सम्म संचालन भएको दलित चेतना अभिबृद्वि सम्बन्धि प्रशिक्षण कार्यक्रममा सन्त बहादुर नेपाली,जातिय समता समाजका केन्द्रिय सल्लाहकर रामबहादुर नेपाली लगायतले बिबिध बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा अखिल नेपाल महिला संघकि केन्द्रिय उपाध्क्ष सकुन्तला राना,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर संघका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सि., अखिल नेपाल युबक संघका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष कबिराम खनाल,अन्टुकका जिल्ला अध्यक्ष सिद्धी भट्टराई,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे,युबक संघका ठाकुर पन्थी,रक्तिम साँस्कृतिक अभियानका बिष्णु के.सी लगाएतले मन्तव्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
 कार्यक्रम जातिय समता समाजका जिल्ला अध्यक्ष राम बसुको अध्यक्षता,चेतबहादुर बि.क.को स्वागत मनतब्य र प्रेम नेपाली को संचालनमा सम्पन्न भएको थियो ।