हंसपुरको दुर्घटनामा ज्यान गुमाउनेलाई राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्धारा श्रदान्जली ब्यक्त

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । आइतबार हंशपुरको रतनमारेमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने १२ जनालाई राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले श्रदान्जली ब्यक्त गरेको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष झविलाल थापाद्धारा हिजो बिहान निकालिएको शोक बक्तव्यमा हंशपुरको दुर्घटना अत्यन्तै दुःखद भएको र यसले सिङ्गो जिल्लानै स्तब्ध भएको जनाउँदै आगामी दिनमा यस्ता घटना नदोहोराउन सबै आ-आफ्नो ठाउँबाट सचेत र सजग हुनुपर्ने उल्लेख गरिएको छ ।
साथै दुर्घटनाका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै राष्ट्रिय जनमोर्चाले मृतकका परिवारलाइ उचित क्षतिपूर्ति र घाइतेको आबश्यक उपचार खर्चको तत्काल ब्यबस्था मिलाउन सरकारसंग माग गरेको छ ।
यसैबिच सोही दुर्घटनामा ज्यान गुमाएकी धारापानी गा.वि.स.वडा नम्बर-६ की ३६ बर्षिया कमला पौडेललाई राष्ट्रिय जनमोर्चाले पार्टीको झण्डा ओडाएर अन्तीम श्रदान्जली ब्यक्त गरेको छ ।
राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.र जिल्ला अध्यक्ष झविलाल थापाले पौडेलको पार्थिव शरिरमा झण्डा ओडाएर श्रदान्जली दिनुभएको थियो ।
शिक्षिका समेत रहनुभएकी कमला पौडेललाई श्रदान्जली दिन राष्ट्रिय जनमोर्चाले आयोजना गरेको शोक सभामा मन्तव्य राख्दै बक्ताहरुले कमला पौडेल जस्तो एक समाजको ऐना गुमाउनु परेको  भन्दै सामान्य कमजोरीले पनि ऐतिहाँसिक ठुला घटना हुने भएकाले सबैले आ-आफ्नो जिम्मेवारी गहन तरिकाले पुरा गर्न सबै सचेत हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा  राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.,जिल्ला अध्यक्ष झविलाल थापा र अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद बन्जाडेले शोक मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलको संचालनमा सम्पन्न भएको श्रदान्जली सभामा प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे लगायत राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।