अर्घाखाँचीमा झण्डै एक करोडको लगानीमा दुई रेडियो खुल्दै

घनश्याम पौडेल 
सन्धिखर्क, अर्घाखाँची ।  जिल्लामा दुई ओटा रेडियोहरु सञ्चालनमा आउने भएका छन् । दुइ रेडियो खुलेपछि रेडियो संख्या ६ पुग्ने भएको छ । नयाँ रेडियोको दर्ता पक्रिया सकिएकोले दशैं वा तिहार अघि नै रेडियोहरुले परिक्षण प्रशारण सुरु गर्ने गरि तयारी थालेका छन् । 
नागरिक जागरण अभियान द्वारा रेडियो पाणिनि र रुपान्तरणका लागि आवाज नामक  सस्थाबाट रेडियो सगर्व सञ्चालन हुँदैछन् । दुबै रेडियोहरु पाँच सय वाटमा प्रशारण हुँदैछन् । पाणिनि ९०.६ मेगाहर्जमा र सगर्व ९५.२ मेगाहर्जमा प्रशारण हुने बताइएको छ ।
 एक रेडियो स्थापना गर्न करिव ४० देखि ४५ लाख लागानी लाग्ने सञ्चालकहरु बताएका छन् । रुपान्तरणका लागि आवाजका सचिव गणेश खनालले समान खरिदको लागि पक्रिया अघि बढाइसकिएकोले छिट्टै प्रशारण हुने बताए । नागरिक जागरण अभियानका सचिव अर्जुन भुसालले दर्ताको पक्रिया  पुरा भएकाले अब रेडियो जडानको काम थाल्ने बताए । उनले संभव भए सम्म दशै अघि नै प्रशारण थाल्ने बताए ।  
जिल्लामा एकै पटक दुइ ओटा रेडियो खुल्ने प्रचलन रहेको छ । पहिलो चरणमा रेडियो देउराली र अर्घाखाँची, दोस्रो चरणमा  सुर्योदय र नयाँ एफएम सञ्चालनमा आएका थिए ।  तेस्रो चरणमा पाणिनि र सगर्व प्रशारणमा आउने पक्कापक्की भएको छ ।