हंसपुर जिप दुर्घटनाका सवारी चालकलाई कारागारमा चलान

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  हंसपुर जिप दुर्घटनाका सवारी चालक यमबहादुर श्रिसलाई मुद्दा पुर्पक्षका लागि कारागारमा चलान गरिएको छ ।
 
किटानी जाहेरी दरखास्त, घटनास्थल तथा लासजाँच मुचुल्का, शवपरिक्षण प्रतिवेदन, प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको साविति वयान, वस्तुस्थिति मुचुल्का तथा घटना विवरणको कागज गर्ने व्यक्तिहरुले लेखाई दिएको कागज व्यहोरा एवं प्रतिवादीले अर्धाखाँची जिल्ला अदालतमा गरेको वयान समेतका तत्काल प्राप्त प्रमाणका आधारमा जिप सवारी चालक निर्दोस हुन् भनी तत्कालै मान्न मिल्ने आधार नदेखिएकोले हंसपुर जिप दुर्घटनाका सवारी चालक प्रतिवादीलाई थुनामा राखि मुद्दाको पूर्पक्ष गर्ने गरी अर्घाखाँची जिल्ला अदालतले बुधवार आदेश दिएर निज जिप चालक कारागार चलान भएका छन् । 
उनले थुनामा रही मुद्दाको पूर्पक्ष गर्नु पर्ने साथै उक्त मुद्दामा अदालतले वादी प्रतिवादीका साक्षीहरुलाई वुझ्ने आदेश समेत दिएको छ । 
सो दुर्घटनामा १२ जना व्यक्तिको ज्यान गएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले निज चालकले लापरवाही गरी सवारी चलाएकोले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) बमोजिम जिप चालकलाई २ वर्ष देखि १० वर्ष सम्मको कैद सजाय हुन माग दावी लिई बुधवार अर्घाखाँची जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।