डोनाल्ड ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्तिमा माफी मागेपनि आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थाले

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महिलाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएकोमा प्रष्टीकरण दिँदै माफी मागेपनि आसन्न निर्वाचनमा एकपछि अर्को गर्दै आफ्नै पार्टीका वरिष्ठहरुको साथ गुमाउन थालेका छन् ।
 
अघिल्लो निर्वाचनमा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार जोन मेक्कन र पूर्वविदेशमन्त्री कन्डोलिजा राइसले ट्रम्पले अति गरेको भन्दै समर्थन गर्न नसक्ने प्रस्ट गरेका हुन् ।
सुरुमा शर्तसहितको समर्थन दिएका मेक्कनले अब समर्थन कायम राख्न नसक्ने प्रस्ट गरे ।
अब अति भएको भन्दै राइसले पनि ट्रम्प कुनै हालतमा राष्ट्रपति बन्नु हुँदैन र उम्मेदवारी त्याग्नुपर्छ भनेकी छन् ।
न्यू हाम्पसाएरका सिनेटर केली अयोट्टेले महिलाविरुद्ध तथानाम बोल्नेलाई समर्थन गर्न नसक्ने भन्दै हिलारी क्लिन्टनलाई पनि आफूले भोट नदिने बताएकी छन् ।
चुनावी मैदानबाट हट्दिनँ
ट्रम्पले भने आफूलाई चुनावी मैदानबाट धकेल्न सन्चारमाध्यम र पार्टीकै केहीले लगातार आक्रमण गरिरहेको आरोप लगाउँदै कुनै हालतमा चुनावी मैदानबाट नहट्ने अडान लिएका छन् ।