उदाउँदो अर्थतन्त्र भनेर मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकासम्बद्ध संगठन ‘ब्रिक्स’को आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ ।
सो सम्मेलन यही अक्टोबार १५ र १६ मा भारतको गोवामा भएको थियो । उक्त सम्मेलनले गोवा घोषणापत्र पनि जारी गरेको छ ।
बिमस्टेक र ब्रिक्सका नेताहरुको संयुक्त यस घोषणापत्रमा विश्वमा सुशासन, साझेदारी, लगानी प्रवर्धन एवं संयुक्त लगानीका साथै आर्थिक विकासका क्षेत्रमा विश्वमा सहयोग पुर्याउन सकिने विषय सो घोषणापत्रमा समेटिएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलियन राष्ट्रपति माइकेल टेमर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमा सो सम्मेलनमा सहभागी थिए ।
सो सम्मेलनमा आर्थिक क्षेत्रको बिकासका साथै सामूहिक विकासका अवसरहरुको खोजी हुनुका साथै विभिन्न क्षेत्रमा भएको सहयोग र समन्वयकाबारेमा व्यापक मात्रामा छलफल भएको थियो ।
सो घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सन् २०३० दिगो विकाससम्बन्धी लक्ष हासिल गर्नका लागि विकासशील देशहरुलाई विकासित देशले सहयोग गर्ने भनेको प्रतिबद्धताबमोजिम काम गर्न पनि आग्रह गरिएको छ ।
त्यस घोषणापत्रमा गएको एक दशकमा यस संगठनका लागि सहयोग गरेकोमा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ ।
त्यसैगरी, आगामी कार्यकालका लागि संयुक्त राष्ट्रसंघको महासचिवमा नियुक्त भएका एन्टोनियो गुटेर्रेसलाई सो घोषणापत्रमार्फत् बधाइ ज्ञापन पनि गरिएको छ ।
वर्तमान महाचिव बान की मुनको कार्यकाल यही डिसेम्बर ३१ मा सकिएपछि सन् २०१७ जनवरी एकदेखि गुटेर्रेसले महासचिवको जिम्मेवारी सम्हाल्नेछन् ।
उनले यसअघि राष्ट्रसंघ शरणार्थी आयोगको प्रमुखको जिम्मेवारी पनि निभाएका थिए ।
आपसी हितको प्रवर्धन र सहयोग एवं समन्वयलाई अघि बढाउन जि-२० संगठनसँगको सहकार्यलाई अघि बढाउन पनि उक्त घोषणापत्रले प्रतिबद्धता व्यक्त गरेको छ ।
सो घोषणापत्रले ब्रिक्स राष्ट्रहरुमा हालै भएका भनिएका कतिपय आतंकवादी हमलाहरुको निन्दागर्दै सबैखाले आतंकवादी क्रियाकलापहरुको कडा शब्दमा निन्दा गरेको छ ।
यस घोषणापत्रमा वातावरणीय संरक्षण एवं जलवायु परिवर्तनको असर कमगर्ने विषयमा हालै गरिएको पेरिस सम्झौताको पनि स्वागत् गरेको छ ।
यस संगठनको आगामी, नवौं सम्मेलन चीनमा आयोजना गरिने भएको र यसका लागि चीनलाई विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ ।
ब्रिक्सको यस आठौं सम्मेलनमा विभिन्न देशका नेताहरुले आ-आफ्ना देशका द्विपक्षीय हित र मामिलामा पनि आपसमा कुराकानी गर्ने अवसर पाएका थिए । रासस/सिन्ह्वा