एमाले अर्घाखाँचीद्वारा धनचौर हत्याको घोर भर्त्सना तथा निन्दा, हत्याका आरोपितलाई पार्टीबाट निलम्बन

( पहिलो प्रकासित मिती: २०७३ कार्त्तिक ३, बुधवार)

गोपाल प्रसाद भट्टराई

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ने.क.पा.(एमाले) अर्घाखाँचीले धनचौर हत्याको घोर भर्त्सना तथा निन्दा गर्दै बुधवार बिज्ञप्ती निकालेको छ ।

ने.क.पा.(एमाले)जिल्ला अध्यक्ष चेत नारायण आचार्यद्धारा निकालिएको बिज्ञप्तीमा हत्या भएकी ने.क.पा.(एमाले)धनचौर गाउँ कमिटि पुर्व सदस्य कल्पना भुसाललाई श्रदान्जली ब्यक्त गर्दै हत्याका आरोपित ने.क.पा.(एमाले)धनचौरका भुतपूर्व अध्यक्ष खेमराज भुसाल र निबर्तमान अध्यक्ष गणेश कुमार भुसाललाई ने.क.पा.(एमाले)को साधारण सदस्यबाट समेत निलम्बन गरिएको जनाइएको छ ।
बिज्ञप्ती मार्फत एमालेले हत्याको निस्पक्ष छानबिन गरि हत्यारालाई कानुन बमोजिम कार्बाही गर्न माग गरेको छ ।
हराएको भनिएकि धनचौर-५ रातामाटाकी कल्पना भुसालको हत्या भएको खुलासा भएको छ । हत्याको अभियोगमा पक्राउ परेका गणेश कुमार भुसालले पत्रकार सङ्गको बयानको क्रममा हत्या आफैले गरेको बताएपछि कल्पना भुसालको हत्या भएको खुलासा भएको हो । 
गत असौज १८ गते धनचौर-९ देउराली पसलबाट सामान किनेर साँझ पाँच बजेतिर घर जान्छु भनेर हिडेपनि घर नपुगेपछि आफन्तले खोजतलासको निम्ती जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा निवेदन दिएका थिए ।
सोहि अनुसार असौज १९ गतेदेखि स्थानिय,आफन्तजन र प्रहरीको टोलीले कल्पना भुसालको खोजि अभियानलाई तिब्र पारेको थियो । खोजतलासको क्रममा कल्पनाको हत्या भएको हुन सक्ने र हत्यामा संलग्न रहेको आशंकामा असौज २२ गते धनचौर-५ निवासी खेमराज भुसाल र निजका छोरा गणेश कुमार भुसाललाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले हिरासतमा लिइ घटनाको थप अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानको क्रममा जिल्ला प्रहरी प्रमुख नवरत्न पौडेलको नेतृत्वमा खोजतलासमा गएको टोलीले हराएको सात दिनपछि असौज २४ गते दिउसो ३ बजेतिर जलुके गा.वि.स.वडा नम्बर दुईको छेकुवा जंगल नजिकै झिमरुक नदी मुनि राप्ती नदीको किनारमा कल्पना भुसालको मृत शरिर भेटाएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले घटनाको अनुसन्धानको क्रममा खुलेका तथ्यहरुको जानकारी दिन आज प्रहरी कार्यालय परिसरमै गरेको पत्रकार सम्मेलनमा हत्याका अभियुक्त गणेश कुमार भुसालले कल्पना भुसालको हत्या आफैले गरेको स्विकार गर्दै हत्या पछि लाश लुकाउन बुवा खेमराज भुसालले सहयोग गरेको बताएका छन् ।
अहिले अभियुक्त दुबै जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखि आबस्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभएको छ ।