अर्घाखाँचीका बासीन्दाहरुले संविधान कार्यान्वयनको निम्ति एकजुट हुन आग्रह

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाका बासीन्दाहरुले संविधान कार्यान्वयनको निम्ति एकजुट भएर अगाडी बढ्न नेताहरुको ध्यानाकर्षण गराएका छन् । जनताको बलिदान बाट निर्मित संविधान कार्यान्वयनको लागि प्रमुख दलहरुले नै आनाकानी गरेको भन्दै, उनीहरुले संविधान कार्यान्वयनको काम लाई तिब्रताका साथ अगाडी बढाउनु पर्नेमा जोड दिए । 
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा सदरमुकाम सन्धिखर्कमा आयोजित कार्यक्रमका सहभागिहरुले संविधान निर्माणको समयमा एक ढिक्का भएका दलहरु कार्यान्वयनको समयमा दुई धु्रवमा बिभाजित हुनु दुःखद कुरा भएको बताउँदै, सत्ता टिकाउने र ढाल्ने खेलमा नलागी प्राप्त उपलब्धिको रक्षामा जुट्न आग्रह गरे ।नेपालमा पटक पटक राजनैतिक परिवर्तन भएपनि प्राप्त उपलब्धिको रक्षा हुन नसक्दा जनता र मूलुकले ठूलो मुल्य चुकाउनु परेकाप्रति सहभागिहरुको गुनासो थियो ।
कार्यक्रममा मन्तव्य राख्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवत्ता डिल्लीराज घिमीरेले नयाँ संविधान पूर्ण रुपमा कार्यान्वयन हुनेमा बिस्वस्त रहन जिल्ला बासी लाई आग्रह गरे । नेपाली जनताले आफ्नो संविधान पहिलो पटक आफै बनाएको उल्लेख गर्दै, उनले ठूलो त्याग र वलिदान बाट निर्मीत संविधान नेपाली जनताको साझा सम्पत्ती भएकाले त्यसको रक्षा गर्नु सबैको दायीत्व भएको बताए । प्रवत्ता घिमीरेले संविधान कार्यान्वयनको निम्ति आबस्यक पर्ने कानूनहरु निर्माणको लागि सरकार अहोरात्र खटेको भन्दै, बाहीर हल्ला आए जस्तो संविधान कार्यान्वयनमा कुनै जटीलता नभएको दावी गरे ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव हुम बहादुर के.सी.,शाखा अधिकृत बावुराम पाण्डे,अरुणा जोसी र नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी ले नेपालको संविधान संसारका कुनैपनि संविधान भन्दा कमजोर नभएको भन्दै संविधानमा उल्लेख भएका सकरात्मक कुरा जनता समक्ष पुर्याई संविधान कार्यान्वयनको निम्ति माओल सिर्जना गर्न संचार कर्मिको ध्यानाकर्षण गराए ।