धर्मको नाममा सामाजिक सद्भाव खलबलाउनेलाई कानुनी कार्बाही हुन्छ: अर्घाखाँची प्रहरी प्रशासन

असोज ३० गते पूर्णिमाको अर्घाको भगवति मन्दिरमा हिन्दु धर्मलाई आँच पुग्ने गरि धार्मिक पुस्तक बिक्रि बितरण गरेको भन्दै हिन्दु जागरण युवा संघ नेपाल अर्घाखाँचीद्धारा नष्ट ।

घनश्याम पौडेल ‘परिश्रमी’
सन्धिखर्क, अर्घाखाँची ।  धर्मको नाममा सामाजिक सद्भाव खल्बलाउने जो कसैलाईपनि कानुनले नछोड्ने र उ कार्बाहीको भागिदार हुने बताईएको छ ।
कोजाग्रत पूर्णिमाको दिन मेला लागिरहेको समयमा ऐतिहाँसिक धार्मिक स्थल अर्घाको भगवति मन्दिर परिसरमा हिन्दु धर्मलाई आँच पुग्ने किसिमका धार्मिक पुस्तक बिक्रि बितरण गरेको भन्दै हिन्दु जागरण युवा संघ नेपाल अर्घाखाँचीका युवाहरुले रामपालका पुस्तकहरु जफत गरि नष्ट गरदिएपछि केहि दिनदेखी अर्घाखाँचीमा बढेको धार्मिक बिवादलाई साम्य पार्न बिहिबार प्रमुख जिल्ला अधिकारीको आव्हानमा उहाँकै कार्यकक्षमा सरोकारवालाबिचको अन्तरसंवाद तथा बैठक सम्पन्न भएको थियो ।
बैठकमा आफ्ना भनाई राख्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र प्रहरी नायब उपरिक्षक नवरत्न पौडेलले कानुनी मान्यता प्राप्त गरेका सबैखाले कार्य गर्न र संलग्नता हुन सबैको अधिकार भएपनी सामाजिक सद्भाव खल्बलाउने अधिकार कसैलाई नभएको जिकिर गर्दै कानुन उलघंन गर्नेलाई कानुनी कार्बाही हुने बताए ।
बिवाद उत्पन्न गर्ने दुवै धार्मिक पक्षका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको बैठकलाई संबोधन गर्दै उहाँहरुले सदियौँ देखी मिलेर बसेको समाजलाई धर्मको नाममा कसैले पनि सद्भाव बिगार्ने काम नगर्न आग्रह समेत गर्नुभयो ।
अबका दिनमा कसैलेपनि जर्बजस्ती धर्म परिबर्तन र सामाजिक एवम् धार्मिक सहिष्णुता माथि खलल पार्ने गतिबिधि नगर्ने सहमति गर्दै सम्पन्न भएको बैठकमा छलफलको क्रममा दुवै धार्मिक समुहबिच केहिबेर चर्को स्वरमा भनाभन समेत भएको थियो ।