राष्ट्रपति निकोलास मडुरोलाई पदत्याग गर्न दबाब दिने उद्देश्यले भेनेजुएलाका प्रमुख प्रतिपक्षी दलहरूले देशभरी विशाल विरोध प्रदर्शन गरेका छन् ।
१२ घण्टे आम हड्ताल गर्न आह्वान गर्दै प्रदर्शनकारी प्रतिपक्षी नेताहरूले आगामी दिनहरूमा लगातार आन्दोलन गर्ने थप कार्यक्रम पनि अघि सारेका छन् । संसद्मा बहुमत रहेका प्रतिपक्षीहरूले राजधानी काराकसको मूल सडकमा शक्ति प्रदर्शन गर्दै हाल मुलुकले बेहोर्नुपरेको आर्थिक संकट राष्ट्रपति मडुरोकै कारण उत्पन्न भएको आरोप लगाएका छन् ।
प्रतिपक्षी प्रदर्शनकारीहरूले राजधानी काराकसमा मात्र करिब १२ लाख जनता सडकमा उत्रिएको दाबी गरेका छन् ।
यसैबीच हजारौँ व्यक्तिले राष्ट्रपति भवन बाहिर भेला भई राष्ट्रपति मडुरोको समर्थनमा प्रदर्शन गरेका छन् । (एजेन्सी)