कोरियाबाट भाईको दिदीलाई पत्र

प्यारी दिदी ढोग गरे ! 
तपाइलाइ फोनमा दर्शन दिदी भन्थे, पैतला छुने अबसर त कहिल्लै दिनुनै भएन, पर्दैन भन्दै तर्कनु भो । यो मानेमा म अभागी दिदी ! तर यतिबेला यो पत्र मार्फत मेरो आदर टक्र्याउछु , स्विकार्नुहोला ।
अहिले सम्म तपाइलाइ चिठी लेखेको अनुभव छैन तर के गर्नु आज फोन गर्ने हिम्मत पनि त भएन, बोली अड्किएला कि भन्ने भो, पोहोर नि तेस्तै भाथ्यो त्यसैले योपालि  यी यसरी लेख्ने सुरु गरे, जुर्नु पर्दो रहेछ दिदी ।
आज त टिकाको दिन है दिदी, यो अर्थपुर्ण दिनमा हामी सङ्गै  हुनुपथ्यो तर बिडम्बना अवस्था अल्लि फरक रह्यो,हामिले अबस्थालाइ आफू अनुकल बनाउन सकिनौ । समय त किन दोहोरिएला र तर आउंदो समयलाइ हाम्रो पक्षमा पारौला नि हैँ ।  त्यो दिन पनि आउँछ दिदी,आउनु पर्छ ।
खैर छोडम यो कुरा, अनि सन्चै हुनुहुन्छ होला, पक्कै हुनुहुन्छ किननि दिदिलाई रोगले सक्दैन । मैले हजुर बिरामी भएको खास्सै थाह पाएको पनि छैन, म २७ को भए ! तपाइलाई चिनेको २६ भए होला सम्झिने गरी दुख दिन लागेको चाँही २३, २४ भो कि ! ?  त्य्स्तै,त्यस्तै !
दिदिलाई मैले यो चिठ्ठिमा तपाइ भनेर सम्बोधन गरेको छु, तपाइलाई अचम्म लाग्ला !  पिर नगर्नु मैले हेला गरेर तेसो भन्या होईन । यो लोकले मेरो चेतना र  म हुर्किएको संस्कारमा प्रश्न उठाउला कि भनेर हिम्मत गर्नु पर्‍यो तथापी हजुरको मन पक्कै दुख्छ । त्यस्तै ५,६ बर्ष अगाडी मैले तपाइलाई ‘तपाइ’ भनेको थिए, सारै चित्त दुखाउनु भाथ्यो,  रुनु भयो पनो ! मेरो ‘तपाईं’ सब्दले भाइ टाढा भो कि भन्ने पर्यो । पछि मलाई नि गल्ति गरेछु भन्ने महासुश गराउनु भो । आखिर तपाइको मन नदुखोस पनि कसरी, मैले हजुरलाई बच्चै देखी ‘तं’ भनेर सम्बोधन गरे, गर्दै छु । तपाईंले तपाइमा भन्दा ‘तं’ मा बढी आफ्नोपन देख्नु, माया सम्झिनु भो जुन स्वभाबिक  थियो, छ । तर यो कुरा बाहिर समाजले बुज्दैनन दिदि, बुज्दारहेनछन । दिदी भाइमा आदर सम्मान नहुनि होईन हुन्छ तर मैले दिदिलाई गर्ने सम्मान मेरो सम्बोधनले मापन गर्दैन । यो म र तपाइ मात्रै बुझ्छौ । भाइले पनि बुज्छ ।
कसैले तिमीहरु दुइ भाइ मात्रै हो भनेर सोद्धा, हो हामी दाजुभाइ मात्रै हो भनियो ।
 ए,उसोभए बाबुहरुका दिदिबैनी छैनन भनेर ढुक्के प्रश्न गर्दा , अंह छैनन भनेर कहिल्लै भनिएन ! बुझाउन पट्टी लागियो ।
हामिले फुजैदिदी र दिदिमा हुने भिन्नता छुट्ट्याउने मौका कहिल्लै पायनौ, अझ यसो भनु दिदिले त्यो मौका दिनुनै भयन ।
 
मलाई हिजो जस्तै लाग्छ, दिदिले पिठ्युमा बोकेर आफ्नै स्कुल लगेको । १ कलाश पढ्नु भन्दा पहिले नै ४,५ कलास पढेको अनुभब दिदिको कारणले नै मेरो स्मृतिमा सुरक्षित छ । दिदिका साथी सबै मेरा दिदी ! ‘बिजुलिको तार’ नाम गरेको गित गाएर पुरा क्लास नै रमाइलो गरिदिदा म सबैको प्यारो भाइ भएको थिए । अहिले पनि छु । तपाइको माया म ति सबै दिदिहरुमा बराबर देख्छु, हुँदाहुँदै ती कसैलाइ तं भनेर सम्बोधन गरिन किनकी ती तपाईं जस्तै ठ्यककै आफ्ना होइनन कि भन्ने लाग्यो, तं सम्बोधन भित्र माया र आदर देख्दैनन कि भन्ने लाग्यो र ती तपाइहरु भए तर तपाईं ‘तं’ ! 
 भो छोड्नुस यी कुरा, यी ओखाभाका लेखेर रित्त्तिदैनन, रेशमको धागो जस्तै जति तान्यो तेति लामो हुँदै जान्छन  ।
 अनि भोलि त खिल्जी जाँदै हुनुहुन्छ होला है ? जानुस दिदि
  ढुक्क जानुस, कान्छो भाइ बाटो हेरेर बसेको छ । उल्ले हाम्रो प्रतिनिधित्व गर्छ हामी माइलो जेठो(म र बुबा) यत्तिकै खुसी छौ । समय सकिएको छैन दिदी आइराख्छ, अर्को,नभए अर्को  ! तपाइको अगाडि एउटै गुन्द्रामा बसेर बौताको टिको सिन्काको सहयोगले  निधार रङ्याउला ,नाचौला रमौला ! त्यो दिन आउँछ, आउनुपर्छ ।
अन्त्यमा मन नदुखाउनुहोला, तपाईं हाम्रो मन त्यति कम्जोर पनि त होइन । अबस्थाले हाम्रो बसाइ टाढा छ दिदी तर भावना हेर्नुस त म हजुरकै मुटुमा छु । भान्जी भान्जा जस्तै एउटा कुनामा सुरक्षित छु । 
भान्जा भान्जिलाइ माया भनिदिनु, भिनाजु मै जस्तै आफ्नी दिदी भन्दा टाढा हुनुहुन्छ । म फोन्छु,  बितेका कुरा अलिकती र आउने रमाइला कुराहरु साटेर हामी काल्पनिक दुनियामा छिर्छौ । चिन्ता कतै छैन, खुशी हुने प्रयाश गर्नेछौ । 
जाँदा जाँदै, दाइ भनेर माया गर्ने बहिनिहरु धेरै कमाएको छु । केही उमेरले,केही नाताले र केही   भाबनाले नजिक छन , मैले दिदि भन्नेहरु पनि धेरै छन । ती सबै प्रती म कृतज्ञ छु तथापी यो निधारमा औंला चलाउने अधिकार सिर्फ तपाइको हो जुन सधै सुरक्षित रहनेछ । अस्तु !!
भाइ प्रकाश
खिल्जी, अर्घाखाँची हाल  कोरिया !!