एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज नजिर मियाँद्वारा धार्मिक संस्कृतिले समाजमा सुव्यवस्था कायम गर्ने उल्लेख

बसन्त श्रेष्ठ ‘छापेली’ 
लदाम, अर्घाखाँची । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मियाँले धार्मिक सस्कृतिले समाजमा सुव्यवस्था कायम गर्ने बताउनु भएको छ ।  उहाँले सबै जातजाति भाषा भाषीले मनाउने पर्वहरुको संरक्षण संवद्र्धन गर्नुपर्ने बताउनुभयो । नेकपा एमाले सन्धिखर्क विशेष नगर कमिटी द्वारा सञ्चालनमा आएको भैली कार्यक्रमलाई समापन गर्दै पूर्व सभाषद समेत रहनुभएका मियाँले नगर कमिटीले तिहारमा भैली खेलेर निकै राम्रो काम गरेको भन्दै नगर कमिटीलाई धन्यवाद दिनुभयो । 
उहाँले आगामी दिनमा पनि यस्तै खालका रचनात्मक गतिविधिहरु गर्न नगर कमिटीलाई आग्रह गर्नुभयो ।  उहाँले देउसी भैलाबाट  संस्कृतिको संरक्षण गर्नुको साथै पार्टीका कार्यक्रमहरुलाई गीत संगितका माध्यमबाट प्रचार गर्न उपयुक्त मानिने हुँदा यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिनुभयो । राजनीतिक प्रसङ्गमा उहाँले वर्तमान सरकार जनताको आवश्यकता पुरा गर्ने भन्दा पनि विदेशीलाई कसरी रिजाउने भन्नेमा बढि केन्द्रीत भएको बताउनुभयो ।  उहाँले केपि ओली नेतृत्वको सरकारले गरेका राम्रा कामबाट आताल्लिएर  माओवादी कांग्रेसले गठवन्धन गरेको बताउनुभयो ।
  सन्धिखर्कको लदाम वगैंचामा एक कार्यक्रमको आयोजना गरि भैली कार्यक्रमलाई समापन गरिएको हो । भैली कार्तिकको १४ गते देखि १८ गते सम्म सन्धिखर्कमा खेलिएको थियो । भैलौबाट १२ लाख रुपैयाँ जम्मा भएकोमा करिव ३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । भैलोबाट सम्पूर्ण खर्च कटाएर करिव ८ लाख रुपैयाँ बचत भएको छ । समापन कार्यक्रममा आर्थिक परिचालन कमिटीका संयोजक मोतिजङ्ग रायमाझीले आय-व्यय प्रस्तुत गर्नुभएको थियो  । कार्यक्रम नगर कमिटीका संयोजक युवराज श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्य शम्भु पोख्रेलको स्वागत मन्तव्य र सचिव श्रीकृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा भैली नाँच, सोरोठी नाचका साथै विभिन्न सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । सांगितिक कार्यक्रमको सञ्चालन प्रेस चौतारीका सचिव तथा कलाकार अर्जुन भुसालले गर्नुभएको थियो ।