डिभर्नाको जालकाँडामा बाख्रापालन हस्तान्तरण कार्यक्रम सम्पन्न

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको डिभर्ना स्थित जालकाँडा बाख्रापालन समितिका किसानहरुलाई हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 
एक कार्यक्रम समारोह बिच पुर्ब उपप्रधानमन्त्री एवम माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले अस्ट्रेलियाबाट खरिद गरि ल्याईएका झन्डै ३० लाख बराबरका १२ वटा उन्नत जातका बोकाहरु सन्धिखर्क नगरपालिका वडा नं१४ डिभर्ना धारामाथी स्थित जालकाँडा बाख्रापालन समितिका किसानहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
बोकाहरु किसानलाई हस्तान्तरण गर्दै रायमाझीले अर्घाखाँचीलाई हरेक क्षेत्रमा नमुना र अग्रणी जिल्ला बनाउने क्रममा अर्घाखाँची जिल्लाको यो ठाउँ बोयर बाख्राको श्रोतकेन्द्र समेत हुने र देशका ७५ जिल्लामा उन्नत बोकाहरु पैठारी गरि मासुमा आत्मनिर्भर मात्र होइन आर्थिक उपार्जनको मुख्य श्रोत बन्नेकुरामा आफू बिश्वस्त रहेको बताउनु भयो ।
उहाँले विभिन्न राजनीतिक बिचारधारा फरक भएपनि जिल्लाको बिकास निर्माणमा सबैको एउटै धारणा र एकताबद्ध भएर गैरहेको र अगाडि पनि यो अभियानमा सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
मासु उत्पादनको लागि प्रसिद्ध बोयर बाख्राको श्रोतकेन्द्र स्थापना गरि अन्य कृषकहरूलाई समेत सहज रुपमा बिउका लागि पाठापाठी उपलब्ध गराउने तथा खसी बोकाको मासुको आपूर्ति गरि देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानका लागि बीउ बिजन कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाई अर्घाखाँचीले सो बोका हस्तान्तरण गरेको हो ।
कार्यक्रम जिल्ला पशु सेवा कार्यालयले गरेको हो । सो कार्यक्रममा पशु विशेषज्ञ, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल लगायत विभिन्न कार्यालय प्रमुख, राजनितीक दलका प्रमुख, समुहका सदस्य तथा स्थानीयबासिको उल्लेख्य सहभागीता रहेको थियो ।
सो बखत स्थानीय रुपमा प्रचलित भजन कृतन समेत प्रस्तुत गरिएको थियो ।
तस्बिर: सहयोगी बिसी 

अन्य समाचारहरु