भारतको उत्तरपूर्वी राज्य असाममा एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु

भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जत्थालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु हुनुको साथै अरु चार घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
असाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।
आक्रमणको क्रममा दोहोरो झडपसमेत भएको र त्यसैक्रममा तीन सैनिकको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी मुकेस अगरवालले बताएका छन् ।
स्थानीय सचारमाध्यमका अनुसार आतंककारीहरुले हातहतियारलगायत रकेट, ग्रीनेड र एके-४७ राइफलसमेत प्रयोग गरेर आक्रमण गरेका जनाइएको छ । यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन् ।
तर, प्रहरीका अनुसार यस प्रकारको एम्बुस आक्रमण युनिटेड लिबेरसन फ्रन्ट अफ आसोम (युएलएफए)ले गर्दै आएको हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।
तेलधनी क्षेत्र आसाममा स्वतन्त्र गृहभूमिका लागि लडाइँ गरिरेहका कैयौं समूहहरुमध्ये युएलएफए पनि एक हो ।
सन् २०११ मा युएलएफएले ३३ वर्षसम्म जारी राखेको विद्रोहलाई अन्त्य गर्न भारतीय सरकारसँग शान्तिवार्ता गर्ने घोषणा गरेको थियो । रासस/एएफपी