-सानु खतिवडा
हेटौडा, मकवानपुर -हाल इजराएल
—————————————-
राप्ती कर्रा बगिरा’को खबर लेख्नु,ल ?
नानीहरू पढ़िरा’को खबर लेख्नु,ल ?
मेरै यादमा बित्छ होला रातोदिन तिम्रो
आँसु मात्रै झरिरा’को खबर लेख्नु,ल ?
घरदेखि अफिस गर्दा भ्याईनभ्याई होला
घाम पानी सहिरा’को खबर लेख्नु,ल ?
तिर्न बाँकी होला अझै काले साहूको ऋण
सावाँ ब्याज थपिरा’को खबर लेख्नु,ल ?
पुराना भै फाटे होलान् लुगाफाटा जम्मै
आधा पिठ्यूँ जलिरा’को खबर लेख्नु,ल ?
मलाई सम्झी बने होलान् अचार मीठामीठा
खाँदै नखाइ सडिरा’को खबर लेख्नु,ल ?
सम्झेकी छु तिम्रो माया सधैं प्रवासमा
तिम्ले पनि सम्झिरा’को खबर लेख्नु,ल ?