५ नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा अर्घाखाँचीमा आन्दोलन जारी

सन्धिखर्कमा आईतवार । 

गोपाल प्रसाद भट्टराई
मंसिर १९,अर्घाखाँची । ५ नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा विभिन्न जिल्लाहरुमा भैरहेको आन्दोलनको आज पाँचौ दिन पनि आन्दोलन जारी रहेको छ । पाँच नम्बर प्रदेश अन्र्तगतका अर्घाखाँची गुल्मी पाल्पा रुपन्देही प्युठान रोल्पा रुकुम लगायतका जिल्लाहरुमा अखण्ड प्रदेशको माग गर्दै  विभिन्न विरोधका कार्यक्रमहरु भएका छन् ।  जस अनुसार आज अर्घाखाँचीमा हजारौंको सङ्ख्यामा जुलुश प्रर्दशन गरिएको छ ।
सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचाबाट सुरु भएको जुलुशमा जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा कार्यकर्ता,उद्योगि ब्याबसायी,नागरिक समाज लगायतका हजारौं जनता सहभागि भएका थिए ।जुलुश संबिधान संशोधन खारेज गर,अखण्ड ५ नम्बर प्रदेश कायम गर लगायतका नारा घन्काउँदै मिडियाचोक,हललाइन,नयाँ बसपार्क,पाणिनिचोक,गुन्टेखोला र मन्चलाइन हुदै पून शान्ति बगैचामा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई संबोधन गर्दैं संर्घष समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष झविलाल थापाले जनताको भावना बिपरित शान्त रहेको ५ नम्बर प्रदेशलाई बिखण्डन गरि अरिङ्गालको गोलामा लठ्ठीले घोचे जस्तो गरि जिस्काएको भन्दै तत्काल संविधान संसोधन विधयक फिर्ता गर्नुपर्नेमा जोड दिनु भएको थियो ।नेता थापाले बैदेशिक दबाबमा परि नेपाली समाजको सदभाव खलबलाउने प्रयास गरेको भन्दै राष्ट्रियताको रक्षार्थ नेपाली जनताहरु सचेत भई एक हुनुपर्ने बताउनुभयो ।सभाको संचालन नेपाल पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीले गर्नुभएको थियो ।
यसअघि हिजो विहान बसेको संर्घष समितिको बैठकले अर्घाखाँचीमा २१ गते सम्मको लागी आन्दोलनका कार्यक्रमहरु तय गरेको छ । जस अनुसार आज मंसिर १९ गते  विहान ८ बजे देखि ३ बजे सम्म आमहड्ताल कोण सभा र जुलुश पर्दशन गर्ने जनाईएको छ । यस्तै मंसिर २० गते विहान ११ बजे देखि दिउसो ४ बजे सम्म आमहड्ताल गर्ने सन्धिखर्कको टुडिखेलमा विशाल आमसभा गर्ने र उक्त सभामा गाउँ गाउँ बाट समेत सहभागिता गराउने निर्णय गरिएको छ  । २० गतेको सभापछि अन्य विरोधका कार्यक्रमहरु तय गर्ने र मंसिर २१ गते बाट क्याम्पस तथा विद्यालयहरुमा निर्वाधरुपमा पठन पाठनलाई सुचारु गरिने निर्णय समेत गरिएको छ । यस्तै आन्दोलनलाई व्यवस्थित र  अनुशासित बनाउनको लागी प्रतेक दलहरुबाट १०-१० जना युवाहरुलाई स्वयम सेवकको रुपमा खटाउने निर्णय समेत गरिएको छ ।
आन्दोलनको क्रममा कुनैपनि पार्टीको झण्डा तथा ब्यानरहरु प्रयोग नगरि राष्ट्रिय झण्डाको प्रयोग गरिने समेत निर्णय भएको संर्घष समितिका संयोजक तथा नेपाली काग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान जानकारी दिनु भएको छ ।