सन्धिखर्कमा महिलाहरुद्वारा रित्तो थाल ठटाएर प्रदर्शन, बन्दको अवज्ञा गरेका ४५ वटा गाडी नियन्त्रणमा (फोटोहरु )

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । पाँच नम्वर प्रदेशबाट हटाउने प्रस्ताव संसदमा दर्ता भएको विरोध अर्घाखाँचीको सन्धिखर्कमा महिलाहरुले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् ।
विभिन्न संघ- संस्था, राजनीतिक दल आवद्द महिलाहरु सहभागी उक्त थाल जुलुस सन्धिखर्कको शान्ति बगैंचा, मेन रोड, हललाइन, बसपार्क, चुत्राबेसी, भक्तिटोला, बैंकरोड हुँदै पुनः शान्ति बगैचामा गएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा संयुक्त संघर्ष समितिका संयोजक तथा कांग्रेस जिल्ला सभापति बिष्णुप्रसाद खनालले सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर पहाड र तराइलाई एकै टाउँमा राख्नु पर्ने बताउनुभयो ।
उहाँले दलीय अडान भन्दामाथि उठेर देश र नागरिकका लागि काम गर्नु पर्ने बताउनुभयो ।   १२ दिनदेखि बन्द रहेको अर्घाखाँचीमा सम्पूर्ण शैक्षिक सस्था, कलकरखाना, बजार र यातायातका सम्पूर्ण साधन ठप्प छन् ।
यस्तै आज बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले ४५ वटा गाडी नियन्त्रणमा लिएका छन् ।