अर्घाखाँचीका बृद्धाहरू भन्छन् ”बरू आत्मदाह गर्न तयार छाै तर टुक्रेको प्रदेश मान्दैनौं”

अर्घाखाँचीका बृद्धाहरूले ”बरू आत्मदाह गर्न तयार छाै तर टुक्रेको प्रदेश मान्दैनौं” भजन कृतन गाएर सरकारलाई चेतावनी दिएका छन् ।

सन्धिखर्क , अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । सरकारले  पाँच नम्बर प्रदेशका पहाडी जिल्लाई टुक्राएर चार नम्बर प्रदेशमा लैजाने गरि संविधान संशोधन विधेयक दर्ता गराएपछि अर्घाखाँचीमा वुद्धवृद्धाहरु समेत आन्दोलनमा उत्रीएका छन् । बृद्धाहरूले ”बरू आत्मदाह गर्न तयार छाै तर टुक्रेको प्रदेश मान्दैनौं” भनी भजन कृतन गाएर सरकारलाई चेतावनी दिएका छन् ।
जेष्ठ नागरिक समाज अर्घाखाँचीले हिजो शनिबार सडकमै पत्रकार सम्मेलन गरि आन्दोलनमा उत्रने जानकारी गराएको छ । वृद्धवृद्धारुले भजन गाएर प्रदेश टुक्राउन सरकारको कदमको बिरोध गरे ।
‘आवाज उठाऔछौं, आवाज उठाऔछौ
पाँच नम्बर टुक्राउनेलाई डाँडै कटाउँछौं’
‘अरु जान्दैनौं, अरु जान्दैनौं,
पाँच नम्वर टुक्राएमा हामी मान्दैनौ’
बरू आत्मदाह गर्न तयार छाै तर टुक्रेको प्रदेश मान्दैनौं ।
पाँच नम्बर प्रदेश विखण्डनको बिरोधमा यस्तै शब्दहरुलाई बृद्धबृद्धाहरुले  लोक भजनमा उतारे । बृद्धबृद्धाहरुले सडकमै बसेर भजन गाउँदा सन्धिखर्कको शान्तिवगैचा क्षेत्र गुञ्जयमान बनेको थियो । बृद्धबृद्धाहरुले भजन गाउन थालेपछि यत्रतत्र छरिएर रहेका आन्दोलनकारी गोलबन्ध भएर भजनसँगै मनोरञ्जन लिए । उनीहरुलाई गाउन र नाँच्नमा साथ दिए ।
‘मनोरञ्जनबाट पनि बिरोध गर्न सकिन्छ भनेर भजन गाएका हौं’ जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष बुद्धिबहादुर रायमाझीले भने, ‘आजबाट आन्दोलनका कार्यक्रम सार्वजनिक ग-यौं अब निरन्तरता दिन्छौं ।’  उनले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नगरे आन्दोलनलाई  सशक्त पार्दै लैजाने बताए ।
‘वृद्धहरुको आन्दोलनको बलमा सरकारले प्रस्ताव फिर्ता लिन बाध्य हुनेछ’ उनले भने, ‘जिल्ला स्तरबाट आन्दोलन गर्दा सरकारले सुनेन भने हामी काठमाडौंमा गएर आन्दोलन गर्न पनि  तयार छौं ।’ सन्धिखर्कका ८२ वर्षिय बृद्ध खिमानन्द पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा करिव एक सय वृद्धवृद्धाहरु सहभागी बनेका थिए ।