अर्घाखाँचीमा आन्दोलनकारीहरुद्वारा पत्रकार माथि अभद्र व्यवहार

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेशलाई टुक्राउने सरकारको निर्णय बिरुद्ध आव्हान गरिएको ३ दिने आमहड्तालको दोस्रो दिन अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आन्दोलनकारीहरुले  समाचार संकलन गर्न गएका पत्रकारलाई अभद्र व्यवहार गरेका छन् । 
स्थानिय नयाँ एफ.एमका पत्रकार सुदिप केसीलाई समाचार संकलनको क्रममा अभद्र व्यवहार गरिएको हो । केसी नयाँ एफ.एममा समाचार संकलन, बाचन तथा कार्यक्रम संचालन गर्ने गर्द्छन । 
फुदवाङबाट नयाँ एफ एमको स्टुडियो तर्फ जाँदै गर्दा बाटोमा बन्दकर्ताहरुले मोटरसाईकल रोक्दै अभद्र व्यवहार गरेको पत्रकार केसीले बताए । मोटरसाईकल नियन्त्रणमा लिएका आन्दोलनकारिहरुले अभद्र व्यवहार गर्दै  टायरको हावा फुस्काएपछि बाईकको चावी खोसेका थिए । 
प्रेस लेखिएको मोटरसाईकलमा रहेका केसीले नयाँ एफ.एमको पत्रकार हु भन्दा भन्दै अभद्र व्यवहार गरेको बताइएको छ । 
साथै पत्रकार माथि गरिएको अभद्र व्यवहारको नयाँ एफ एम  घोर निन्दा एवं भ्रत्सना गरेको छ । समाचार संकलको क्रममा रहेका पत्रकारलाई नै अवरोध गर्ने घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारवाहीको लागि समेत एफ.एम.ले माग गरेको छ । 
यस्तै आन्दोलनकारीहरुले विरामी बोकेका एम्बुलेन्सलाई समेत रोकेका थिए ।  
उता ५ नम्बर प्रदेशलाई टुक्राउने सरकारको निर्णय बिरुद्ध आव्हान गरिएको ३ दिने आमहड्तालले अर्घाखाँची जिल्लाको जनजीवन प्रभावित भएको छ । 
 
संघर्ष समितिले आव्हान गरेको आम हड्तालका कारण अर्घाखाँचीका सम्पूर्ण शिक्षण संस्था, उद्योगधन्दा, बजार, पसल तथा यातायात पूर्ण रुपमा ठप्प भएका छन् । बन्दका कारण अर्घाखाँचीमा सरकारी कार्यालयहरु समेत प्रभावित भएको छ ।