भेनेजुएलामा सयको नोट फिर्ता गर्ने निर्णय स्थागित भएको छ । राष्ट्रपति निकोलस मडुरोले यो निर्णय जनवरीसम्मका लागि स्थगित गरेको बताए ।
बोलिभार भनिने भेनेजुयलाको मुद्राको सयको नोट हटाउने निर्णयपछि व्यापक विरोध प्रदर्शन भएको थियो । १ सय बोलिभारलाई फिर्ता गरिनुपर्ने वा त्यसको बदलामा अरु नोटहरु लिनुपर्ने भनिएपछि मानिसहरु धेरै दिन लाईनमा बस्न बाध्य भएका थिए ।
गत हप्तामात्र राष्ट्रपति मडुरोले तस्करी र पैसा लुकाउने कार्य रोक्नका लागि सयको नोट प्रयोग रोक्न आवश्यक भएको बताउनु भएको थियो । तर उनको यस्तो भनाइको केही समयमै अरु दरका नोटको समेत अभाव हुन थालेको थियो ।
नोटको अभावका कारण हजारौं पसलहरु बन्द भएका छन् र मानिसहरुले खानेकुरा समेत किन्न पाएका छैनन् । धेरै शहरमा लुटपाटसमेत भएको छ ।
भेनेजुयलामा मुद्रास्फिति ५ सय प्रतिशतसम्म बढेको छ । राष्ट्रपति मडुरोले यसको दोष छिमेकी कोलम्बियाका गुण्डा र मुद्रा सटहीमा संलग्न समूहहरुमाथि लगाएका छन् । (एजेन्सी)