प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका – २ पुल्चोकमा खेल्ने क्रममा घरको दोस्रो तल्लाको बरन्डाबाट लडेर ( लोटेर) सन्धिखर्क -९ भालुखोला, ज्ञवालीटोला निवासी केशवराज ज्ञवालीकी २ वर्षिया छोरी अविलासा ज्ञवालीको मृत्यु भएको हो ।
पुष २ गते दिउसो करिव ३:३० बजे घरको बरन्डामा खेलिरहेको अवस्थामा एक्कासी तल खस्दा घाइते भई भैरहवा लैजाने क्रममा ठाडामा अविलासाको मृत्यु भएको थियो । गम्भिर घाइते अविलासाको टाउकोमा चोट लागेको थियो ।
खाचिकोट भालुखोलाका केशवले एक वर्ष देखि सन्धिखर्कको पुल्चोक स्थित गणपति भुसालको बिचतल्लामा घरभाडा लिई परिवार सहित बस्दै आएका थिए ।
मृतकको शब पोष्टमार्टमका लागि सन्धिखर्क अस्पताल लगिएको प्रहरीले बताएको छ ।