पणेना र पोखराथोकका सुन्तला किसान निराश

वीरेन्द्र केसी
सुन्तला बोटमा लटरम्म छन् । धेरै आम्दानी गर्ने अपेक्षामा उत्साहित रहेका अर्घाखाँचीको पणेना र पोखराथोकका किसान अब भने निराश छन् । यतिबेला बोटबाट टिपिसक्नुपर्ने हो तर, दाना बोटबाट भुइँमा खसेर नोक्सान भइरहेका छन् । यस्तो अवस्था रोगकिरा वा बजार अभावले भने होइन । पटकपटकको लामो बन्दले किसानले बेच्न नपाएर भएको हो । 
बेलैमा नटिपे आउँदो सिजनमा उत्पादनमा कमी आउँछ । अघिल्लो वर्ष ८० प्रतिशत दाना बोटबाट निकालिएको थियो । पणेना र पोखराथोक अर्घाखाँचीमा सुन्तला धेरै फलाउने गाउँ हुन् । 
‘यतिबेला ८० प्रतिशत सुन्तला बिक्री भइसक्थे,’ पणेना सिम्लेबाट खगेन्द्र पौडेलले टेलिफोनमा भने, ‘बन्दले बिक्री भएनन् । बोटबाटै झर्न थाले । भाउ पनि घट्यो ।’ सुन्तला खरिद गर्न कोही आएका छैनन् । यहाँबाट बुटवल पठाइन्छ । तर, बन्दले गाडी नचलेपछि बोटमै छन् । ‘अहिलेसम्म २५ प्रतिशत मात्रै बिक्री भयो,’ उनले भने, ‘प्रतिकिलो ५५ रुपैयाँमा बिक्री हुने सुन्तला २०/२५ रुपैयाँमा झरेको छ । तैपनि बिक्री हुँदैन ।’ लगभग बोटबाट दाना निखारिसक्नुपर्ने हो । रातिको बेलामा सुन्तला बुटवल पुर्‍याए पनि बन्दले बजार नखुल्दा बिक्री नभएको उनले बताए । ‘अहिलेसम्मकै धेरै फलेको थियो, हामी खुसी थियौं,’ उनले भने, ‘बिक्री नहुँदा निराश छौं । आम्दानी आधा घट्ने सम्भावना छ ।’ बोटमा दाना अडिन नसकेर भुइँमा खसिरहेका छन् । उनले बारीमा लागएका तीन सय बोटबाट वर्षमा ५ लाख रुपैयाँ आम्दानी गर्छन् । यसपालि बिक्री नहुँदा उनी चिन्तित छन् । 
बुटवल र पाल्पाको तानसेनबाट पोखराथोक, पणेना, खिदिम दैनिक बस र जिप चल्छन् । कृषकले तिनै गाडीमा सुन्तला र तरकारी बजार पठाउँछन् । गाडी चल्दा बुटवलबाट व्यापारी र ठेकेदार गाउँमै आएर बोटै खरिद गर्थे । टिपेका पनि थोकमै लैजान्थे । अहिले कोही आएका छैनन् । धेरै भएपछि गाउँघरमा पनि बिक्री भएर सकिँदैन । 
नटिप्दा बिग्रने र भेट्नो कुहिएर भुइँमा खस्न थालेका छन् । ‘बोटबाटै दाना खसिरहँदा मन दुखेको छ,’ कृषक हरि पौडेलले भने, ‘बिक्री हुने दाना भुइँमा झरेर नोक्सान भए । बोकेर लैजाऊँ भने पनि बजार टाढा छ ।’ बजार व्यवस्थापन छैन । यतिबेला दैनिक एक सय क्विन्टल बाहिर पठाउनुपर्ने हो । एक बोरा पनि बिक्री भएको छैन । सुन्तला कृषकले शिवशक्ति कृषक समूह गठन गरेर समूहमार्फत बिक्री गर्दै आएका छन् । 
बोटबाट टिपेर राखेका सुन्तला २५ टन स्टक रहेको समूहका सदस्यसमेत रहेका उनले बताए । असिनाले फूल झार्ने र रोग लागेर थोरै फल्ने गरेको थियो । यसपालि बेला-बेलामा पानी आइरह्यो । असिना र रोग लागेन, त्यसैले धेरै फल्यो । राजनीति खिचातानीले कृषकलाई मार पार्नु बेठीक भएको उनले बताए । सरकार र दलका नेताले कृषि उत्पादनलाई प्राथमिकतामा राखेको बताए पनि उत्पादित वस्तु बजारसम्म पुर्‍याउन नसक्दा कृषकले मार खेप्नुपरेको गुनासो कृषकको छ । 
उनले तीन सय बोट लगाएका छन् । डेढ सय फल दिने बोट छन् । वर्षमा छ क्विन्टल उत्पादित सुन्तलाबाट ६ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । ‘जुन वर्ष अहिलेसम्मकै बोटमा लटरम्मै फले यही बेला नै बन्दको मार खानुपर्‍यो,’ उनले भने, ‘आम्दानी धेरै होला भन्ने थियो । निराश हुनुपर्‍यो ।’ दाना टिपिसक्ने पनि समय हुन्छ । त्यो बेला नटिप्दा बोटलाई भारी हुने, फूल फुल्दा असर गर्ने र दाना फल्नमा २५ प्रतिशत ह्रास आउने पोखराथोकका कृषक अच्युत गौतमले बताए । 
तस्बिर: फेसबूकबाट