अपहरण गरी युरोपेलीमुलुक माल्टामा जबर्जस्ती अवतरण गराइएको लिबियाको अफ्रिकिया एअरवेजको ए ३२० आन्तरिक विमानमा सवार १११ जना यात्रीहरु सकुशल रिहा भएका छन् ।
शुक्रबार विमानमा सवार हाते ग्रीनेड बोकेका अपहरणकारीले विमानमा सवार ८२ पुरुष, २८ महिला र एउटा बच्चा तथा ७ जना चालकदलका सदस्य रहेको विमानलाई अपहरण गरेका थिए ।
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले अपहरणकारीले यात्रीलाई रिहा गरी चालकदलका सदस्यलाई भने नछाडेको जनाएका छन् ।
अपहरित विमान लिबियाको सेबाबाट त्रिपोली जाँदै थियो ।
अपहरणकारीले सन् २०११ मा सत्ताच्यूत गरिएका लिबियाका तानाशाह मुअम्मर गद्दाफीका छोरालाई छाड्नुपर्ने अडान राखेका छन् ।
यस्तै, उनीहरुले माल्टामै आफूहरुलाई राजनीतिक शरण दिन पनि माल्टा सरकारसँग माग गरेका छन् ।
अपहरणकारीहरु अल फताह अल गदिदा समूहका रहेको पनि जनाइएको छ ।
लिबिया सरकारले उनीहरुका मागकाबारेमा अहिलेसम्म केही सम्बोधन गरेको छैन । (एजेन्सी)