अर्घाखाँचीकाआन्दोलनकारीले प्रदेश बचाउन ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिए

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।   ५ नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्राउने प्रस्ताव विरुद्द लामो समय देखि बन्द, हडताल र प्रदर्शनहरु गरिरहेका अर्घाखाँचीकाआन्दोलनकारीले आईतबार प्रदेश बचाउन ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन् ।
उनिहरुले संसोधन विरुद्द निरन्तर लडिरहने र परेको खण्डमा ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका हुन् ।
आन्दोलनकारीहरुले सन्धिखर्क स्थित स्याले बजारमा बसेर ५ नम्बर प्रदेशको पक्षमा निरन्तर संघर्ष गर्ने र ज्यान रहे सम्म लडिरहने प्रतिबद्धता सहितको सपथ खाएका थिए ।   
कार्यक्रममा  उपस्थित आन्दोलनकारीहरुलाई अधिवक्ता तथा जिल्लाका  ज्येष्ठ सदस्य टंकप्रसाद पोख्रेलले सपथ खुवाएका थिए । साथै शपथ लिनु अघि आन्दोलनकारीहरुले सन्धिखर्कको शान्ती बगैचाबाट प्रदर्शन शुरु गरी मेन रोड, मिडीयाचौक, बैंकरोड, पुन: शान्ती बगैचा हुँदै स्याले बजारमा पुगेका थिए ।
कार्यक्रममा संयुक्त संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु भुसाल मुस्कानले आन्दोलनको बारेमा चर्चा गरेका थिए । 
 दुई घण्टा अर्घाखाँची बन्द
उता आन्दोलनकारीहरुले आईतबार १२ बजे देखि २ बजे सम्म दुई घण्टा अर्घाखाँचीका बजार, यातायात समेत बन्द गरिएको थिए । 
बन्दले केही समय जिल्लाको सम्पूर्ण क्षेत्र ठप्प भएको थियो । 

फोटो: फेसबूकबाट