सुनसरीको खनारमा गोली चल्दा तीनजना घाइते

सुनसरीको खनारमा आज दिउँसो गोली चल्दा तीनजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका १४ मा पर्ने खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह रहेको जानकारी पाएर पुगेको प्रहरीमाथि समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलाएको बताएको छ ।

पूर्वक्षेत्रीय प्रहरी प्रमुख डिआइजी केशरीराज घिमिरेका अनुसार आपराधिक गतिविधिमा समेत संलग्न लागूऔषधका कारोबारी रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोली देखेर उनीहरुले गोली चलाएका थिए । त्यस क्रममा प्रहरीको मोटरसाइकलमा गोली लागेको छ । त्यसपछि प्रहरीले पनि प्रतिकारमा गोली प्रहार गरेको थियो ।

घाइते हुनेमा मोरङ निवासी श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनास्थलमा चारवटा पेस्तोल फेला परेको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार घटनास्थलमा हतियारसहित कोरेक्सलगायतका लागूऔषधि फेला परेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

कान्तिपुरबाट