रसना ढकाल
काठमाडौँ (अर्घाखाँचीडट्कम) विश्वका मजदुर एक हौ भन्ने नारा लिएर नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गत नेपाल स्वतन्त्र होटल तथा क्यासिनो रेष्टुरेन्ट मजदुर युनियन (नेस्वहोमयु) ले अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिला तथा पुरुषलाई एक हुन आहवान गरेको छ ।
महिलाको निम्ति महिला मञ्च नेपालको कार्यालय गोगंबुमा शुक्रवार गरिएको एक कार्यक्रममा जिफन्टका उप महासचिव तथा जिफन्ट प्रदेश नं ३ संगठन कमिटिका संयोजक जनक चौधरीले मनोन्जन क्षेत्रमा श्रमिक महिला तथा पुरुषमाथि देखिएको विभिन्न समस्याको निराकरण गर्नको साथै यस क्षेत्रले पर्यटन प्रवद्र्धन गर्नका लािग राज्यलाई सहयोग गर्ने भएकोले आफनो युनियनमा आवद्ध हुन आहवान गर्नु भएको थियो । मनोरन्जन क्षेत्रमा कार्यरत रहेका महिलाहरुमाथि देखिएको श्रम शोषणको सवाल अहिले ठूलै समस्याको रुपमा आइरहेको हुनाले नेस्वहोमयुको यो आहवान भविष्यमा यस क्षेत्रमा काम गर्ने मजदुरहरुको लागि फलदायक बन्न सक्ने देखिएको महिला मञ्चकि कार्यकारि निर्देशक सृजना पुनले बताउनु भयो । कार्यक्रममा मञ्चकि अध्यक्ष कविता मगरले श्रम ऐन २०४८ले मनोरन्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई नसमेटेकोमा आपत्ति जनाउदै विभिन्नि समयहरुमा सरकारलाई यसबारेमा सचेत गराउदै आइरहेको जानकारी दिनु भयो ।
मनोरन्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको श्रम अधिकार र उनिहरुमाथि हुने विभिन्न प्रकारका हिंसाहरुको विरुद्ध आवाज उठाउने सम्भवत नेपालकै पहिलो सस्थाको रुपमा रहेको महिलाको निम्ति महिला मञ्च नेपालले आफनो कार्यक्रम अन्तगर्त यस क्षेत्रमा काम गर्ने महिलाहरुलाई संगठित गर्नुको साथै सशक्तिकरणको लागि पैरवी गर्दै आइरहेको छ ।
संगठन सुदृढीकरण तथा विस्तार अभियान पुष देखि चैत्रसम्म कार्यरत मजदुरहरुलाई एक हुनको लागि जिफन्टले ४ महिनाको अभियान चलाएको छ ।