अर्घाखाँचीका शिक्षक कृष्ण प्रसाद पौडेलको उपचारका लागि आर्थिक संकट

फाइल तस्बिर 

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठुलापोखरा-२ भगवती नि.मा.वि. रोटेपानीका शिक्षक कृष्ण प्रसाद पौडेलको उपचारका लागि आर्थिक संकट परेको छ । पौडेल सहयोग माग्दै अहिले काठमाडौं पुगेका छन् । 
पौडेलको भोजन नली सुक्दै गएको,पानी पिउदा पनि घाटिमा अड्किए जस्तो हुने, साथै खाना खान अफ्ठयारो हुने रोग लागेकोले तुरुन्त उपचार गर्नको लागि आर्थिक सहयोग आवश्यक परेको हो ।
भगवती नि.मा.वि. ठुलापोखरा-२,रोटेपानीमा विद्यालय स्थापना गर्न कृष्ण प्रसाद पौडेलको अमुल्य योगदान रहेको छ । शिक्षा क्षेत्रमा उनको निरन्तर ४२ वर्षको मेहनतले हजारौंलाई शिक्षित बनाई सकेका छन् ।
कृष्ण प्रसाद पौडेलले देश विदेशमा रहेका सबै नेपालीहरुलाई जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गर्न धेरै पटक अपिल गरेता पनि अहिले सम्म कही कतैबाट सहयोग प्राप्त हुन सकेको छैन । उनको आर्थिक अवस्था अत्यन्त दयनिय रहेको छ ।
सहयोग गर्न इच्छुक भएमा उनकै खातामा तलको विवरण अनुसार गर्न सकिने छ:- 
खातावालाको नामः कृष्ण प्रसाद पौडेल 
खाता नं. ०४९२१४००२९२३८७०००००१
बैंकः एन.एम.वि. बैंक
शाखाः सन्धिखर्क,अर्घाखाँची
सम्पर्क नंं: ९८४७२२८५६०, ९८५१२१२२११
कृष्णप्रसाद पौडेलको बारेमा 
कृष्णप्रसाद पौडेल । जिल्लाको ठूलापोखरा-२ रोहोटेपानीनिवासी शिवलाल पौडेलका जेठो छोराका रूपमा ०११ मङ्सिर १ गते उनी जन्मिएका थिए । सुरुमा शारीरिक रूपले तन्दुरुस्त मानिएका पौडेल ११ वर्षको उमेरमा कक्षा पाँच अध्ययन गर्दैगर्दा सामान्य बिमारी परेपछि उपचारकै क्रममा वर्ष दिनभित्रै खच्याकखुचुक बनेर बिस्तारामा थन्किन बाध्य भएका थिए । त्यसपश्चात् ०२८ सालमा उनका बुवाले घरमै विद्याश्रम सञ्चालन गर्ने क्रममा ४० जना विद्यार्थी जम्मा गरेका थिए, तर ६ महिनामै बाबुको देहान्त हुन पुग्यो । चार वर्षदेखि बिस्तरामा थन्किएका विकलाङ्गी पौडेललाई उनकी ४५ वर्षीया आमाले आँटका साथ सान्त्वना दिएपछि सोही वर्षको फागुन २५ गतेबाट घरकै आँगनमा आफना बाबुको सपना पूरा गर्ने आँटका साथ अध्यापन कार्यको सुरुवात गरेका थिए ।
आफू विकलाङ्गी भएर पनि यसरी स्थानीय तहमा शिक्षाको ज्योति जगाउने काममा लागेका पौडेलले पैसाको मुख देख्न नपाए पनि बिस्तराबाट उठाएर चौरमा र चौरबाट घरभित्र ल्याउनुको अलावा उनको खाना तथा खातिरदारीमा विद्यार्थीबाट कुनै कमी नआएको स्मरण गर्छन् उनी । समयको गतिसँगै उनले अध्यापन गराउने चौरमा ०४० सालमा भगवती प्राविको विधिवत् स्थापना भयो । तर, विद्यालयले एकजनाको पहिलो दरबन्दी ०४६ सालमा प्राप्त गरेको थियो । सोही वर्षको वैशाख ५ गतेबाट रु. ५ सय निजी स्रोतबाट अपाङ्ग पौडेलले तलब पाउन सुरु गरे । क्रमशः दरबन्दी थपिँदै जाँदा निजी स्रोतबाट रु. १८०० बुझेका पौडेल ०७० साउनमा रिटायर्ड भएका थिए ।