सिआईजीद्वारा पत्रकार महासंघ अर्घाखाँचीको नयाँ समिति खारेज गर्न माग

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  नेपाल पत्रकार महासंघ अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन दलीय बाँडफाँडमा गठन गरेको भन्दै सूचना तथा सुशासन अभियान, सिआईजीले आपत्ती जनाएको छ ।
सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले प्रमुख जिल्ला अधिकारी कूष्ण वहादुर कटवाललाई दिएको निवेदनमा कुनै पनि संस्थाको बिधानलाई पालना गरेर सदस्यता लिन र उम्मेदवार हुने अधिकारलाई कुठाराघात गरेको भन्दै दलीय बाँडफाँड गरी मध्यरातमा सार्वजनिक गरिएको समिति नामावली खारेज सहित प्रजातान्त्रिक प्रक्रियाबाट कार्यसमिति बनाउन र कानुन मिचेर अगाडी बढनेलाई कारवाही गर्न अनुरोध गरिएको छ । 
यसअघि स्वतन्त्र पत्रकार संघले समिति खारेजीको माग गर्दै शसक्त आन्दोलनको चेतावनी दिएको थियो । 
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको शुक्रबार सन्धिखर्कमा बैठक बसी एक विज्ञप्ती जारी गर्दै विधानसम्मत तुरुन्त बन्दशत्र र चुनावी प्रक्रिया पुन: शुरु गर्न समेत माग गरेको छ । आफुहरु चुनाव मैदानमा रहेको भएपनि जवरजस्त चुनावी प्रक्रिया समेत बन्द गरी दलीय बाँडफाँडमा नयाँ कार्य समिति गठनको नाटक गरिएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।