अर्घाखाँचीमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा, अकस्मिक बाहेकका अन्य सेवा ठप्प

बसन्त श्रेष्ठ ‘छापेली’
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा स्वास्थ्य सेवा ऐनको दफा ९ ख को उचित व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्  । सरकारले लामो समय देखि आन्दोलन गर्दा पनि आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । 
 संयुुक्त स्वास्थ्यकर्मी ट्रेड युनियनले अर्घाखाँचीमा समेत आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका छन् । उनीहरुले जिल्ला स्वास्थ्य कार्यलयको प्रवेशद्धारमा कालो व्यानर सहित धर्ना दिएर सेवा ठप्पा पारेका हुन्  । स्वास्थ्यकर्मीहरुले आफ्ना मागहरु सरकारले सुनुुवाई नगरे चरणबद्ध आन्दोलन गर्ने समेत बताएका छन् । भोलि देखि जिल्ला तथा राष्ट्रिय स्तरमा हुुने तालिम, गोष्ठी, रिपोटिङ्ग र खोप सेवा समेत बन्द गरिने नेपाल स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । 
 संयुुक्त स्वास्थ्यकर्मी ट्रेड युनियनले अर्घाखाँचीमा संयुक्त बिज्ञप्ती जारी गरी बिरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । बिज्ञप्तीमा नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला उपाध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, अखिल नेपाल स्वास्थ्य प्राबिधिक संघका अध्यक्ष पूर्णप्रसाद पराजुली, नेपाल स्वास्थ्य प्राबिधिक संघका जिल्ला अध्यक्ष रामप्रसाद घिमिरे, राष्ट्रिय स्वास्थ्यकर्मी संघका शिबप्रकाश जिसी, नेपाल स्वास्थ्यकर्मी युनियनका मिनराज पौडेल लगायतले हस्ताक्षर गर्नुभएको छ ।