यसवर्ष अर्घाखाँचीमा सुन्तला उत्पादनमा वृद्धि, झण्डै १६ करोड रुपैयाँको उत्पादन

प्रेम नारायण आचार्य  
सन्धिखर्क, अर्घाखाँची ।  अघिल्ला वर्षको तुलनामा यसवर्ष अर्घाखाँचीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । जिल्लामा यस वर्ष झण्डै १६ करोड रुपैयाँको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीले जनाएको छ । 
पणेना पटौटी, खिदीम अर्घातोष, भगवती मरेङ, हंसपुर, ढिकुरा खाँचीकोट, गाविस सुन्तला खेतीको पकेट क्षेत्र हुन । सबै स्थानमा सुन्तला उत्पादनमा वृद्धि भएपछि यस वर्ष झण्डै ७५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीका अधिकृत थीरलाल गैरेले जानकारी दिनुभयो । 
गएको वर्ष १२ करोड ५० लाख रुपैयाँको सुन्तला उत्पादन भएको थियो । यस वर्ष झण्डै ३० प्रतिशतले उत्पादनमा वृद्धि भएको कार्यालयको अनुमान छ । जिल्लामा झण्डै १५ सय हेक्टरमा सुन्तला खेती भैरहेको छ ।
जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला सन्धिखर्क, तम्घास, तानसेन र बुटबलमा बिक्री भैरहेको जिल्ला कृषि विकास कार्यलयका बाग्बानी अधिकृत अर्जुन देव ज्ञवालीले बताउनुभयो । 
सुन्तला खेतीको पकेट क्षेत्रका कृषकहरुले सहकारी समूह बनाएर काम गरिरहेका छन् । कृषकहरु विरुवा उत्पादन गरेर पनि राम्रो आम्दानीमा लागेको छन् । अन्य गाविसमा पनि केही कृषकहरुले व्यवसायिक रुपमा खेती गर्न थालेका छन् । उत्पादित सुन्तलाले सोचेभन्दा पनि राम्रो बजार पाउन थालेपछि सुन्तला खेती तर्फ कृषहरुको मोह बढ्न गएको हो । 
कृषहरुले सुन्तला बजारसम्म पनि लैजान नपर्ने बताउँछन् । व्यापारीहरु कृषकहरुको बारीमै आएर सुन्तला खरिद गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला सबै भन्दा भन्दा बढी वुटवल लजाने गरिएको कृषकहरुको भनाई छ  । वुटवल बाहेक कपिलवस्तु, पाल्पा गुल्मी र भारतका केही ठाउँमा पनि यहाँको सुन्तला  निर्यात हुँदै आएको छ ।