सिद्धारा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधी नहुँदा सर्वसाधारण सेवाबाट बञ्चित

                                                                                                                                                         सिद्वारा स्वास्थ्य चौकी ।  फाइल फोटो

नेत्र मरासिनी 
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको विकट क्षेत्र मानिने सिद्धारा स्वास्थ्य चौकीमा दरवन्दी अनुसारका स्वास्थयकर्मी र औषधी नहुँदा त्यस क्षेत्रका सर्वसाधारण सामान्य स्वास्थ्य सेवाबाट समेत बञ्चित भएका छन् । दुइ दिनसम्म हिँडेर सिद्धारा स्वास्थ्य चौकीसम्म आएका विरामीले न औषधी नै पाउछन् न चिकत्सक नै ।
पाँच जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी रहेको सिद्धारा स्वास्थ्य चौकीमा अहिले एक जना पनि छैनन् । भौगोलिक विकटता र क्षेत्रफलका हिसावले स्वास्थ्यकर्मिको संख्या र सक्रियता बढाउदै जानुपर्ने भएपनि जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले भने कुनै चासो नदेखाएको स्थानीयले बताएका छन् ।
भौगोलिक बिकटताकै आधारमा कर्मचारी जान नमान्ने र गईहालेपनि चार-छ महिनामै सरुवा भई हुने प्रवृतिले सिद्धारा स्वास्थ्य चौकी अधिकांश समय स्वास्थ्यकर्मी विहिन हुने गरेको स्थानीयको भनाइ छ ।
दशवटा नियमित खोप केन्द्र,पाँच गाँउघर क्लिनिक,चौविसै घण्टा प्रशुति सेवा,ओपीडी सेवा,सुरक्षित मातृत्व,परिवार नियोजन,स्वास्थ्य शिक्षा लगायतका अन्य सेवाहरु प्रवाह गर्नुपर्ने स्वास्थ्य चौकिमा एकजना पनि स्थायी कर्मचारी नहुदा सेवाग्राही मारमा परेको स्थानीय बेदुराम आचार्यको भनाइ छ । उनका अनुसार तीनजना करारका कर्मचरीको भरमा स्वास्थ्य चौकी धानिएको छ ।