सन् २०१६ मा भारतका अधिकांश धनाढ्य विदेशमा बसाइँ सरेको न्यून वल्र्ड वेल्थले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । गतवर्ष भारतका ६ हजार जना अति धनी व्यक्ति विदेश पलायन भएको पाइएको छ । यो सन् २०१५ को तुलनामा ५० प्रतिशतले बढी हो ।
सन् २०१५ मा यसरी विदेश पलायन हुने धनी व्यक्तिहरूको सङ्ख्या ४ हजार रहेको तथ्याङ्क छ । यससँगै धनाढ्यहरू पलायन हुने विश्वव्यापी सूचीको शीर्ष पाँचौं स्थानमध्ये भारत पनि एक हो ।
गतवर्षको अन्त्यसम्ममा भारतमा रहेको कुल सम्पत्तिको आकार ६ दशमलव २ ट्रिलियन डलर रहेको छ भने भारतमा २ लाख ६४ हजार जना लखपति र ९५ को सङ्ख्यामा अर्बपति रहेको पाइएको छ । आगामी दशकभित्र भारतले स्थानीय वित्तीय सेवा, सूचनाप्रविधि, रियल इस्टेट, स्वास्थ्यसेवा र सञ्चार क्षेत्रको वृद्धिबाट लाभ उठाउने देखिएको छ ।
सन् २०१६ मा विश्वभरि ८२ हजार जना धनी व्यक्ति विदेश पलायन भएका कारण सम्पत्ति पलायन पनि तीव्र रूपमा बढेको छ । सन् २०१५ मा भने विश्वभरि ६४ हजार जना धनी व्यक्ति विदेश पलायन भएका थिए । गतवर्ष फ्रान्सको सबैभन्दा बढी अर्थात् १२ हजार जना अति धनी व्यक्ति विदेशतर्फ लागेका थिए ।
त्यस्तै धनाढ्यको आप्रवाहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ । सो अवधिमा अष्ट्रेलियामा ११ हजार जना धनी व्यक्ति त्यहाँ सरेको तथ्याङ्क छ । — एजेन्सी