हंसपुरमा झण्डै १५ वर्षदेखि दाम्लोमा बाँधिएका विष्णुको आर्थिक अभावमा उपचार हुन सकेन

प्रेमनारायण आचार्य
हंसपुर, अर्घाखाँची । अर्घाखाँचीको हंसपुरका २९ वर्षका विष्णुबहादुर थापा क्षेत्रीलाई परिवारका सदस्यले दाम्लोले बाँधेर राख्न थालेको १५ वर्ष भइसक्यो । हंसपुर-४ मेहेलपानी का थापा सानैदेखि छारे रोग लागेकाले बेलाबेलामा बेहोस हुने र अचेत हुने गर्थे ।
मिर्गीको समयमै उपचार नपाई मानसिक असन्तुलन भएको कारणले बाँधेर राख्ने गरेको छिमेकी  कमल थापाले बताउनुभयो । 
थापाको उपचारका लागि आर्थिक अवस्था कमजोर तथा अशिक्षाको कारण उपचार गर्नुको सट्टा सुरुसुरुमा साङ्गलोले बाँधेको र अहिले डोरीले  खुट्टामा बाँधेर राखिएको छ । २४ सै घण्टा बाँधेर राख्न लागेको पनि झण्डै १५ वर्ष पुगेको छ । ७२ वर्षकी आमाले हातले खुवाउने, चुठाउने, दिसा पिसाब गराउने गरेको स्थानीय एलबी थापाले बताउनुभयो ।
उनीहरुको आयको श्रोत भन्नु नै आमाको वृद्धभत्ता रहेको छ । उहाँको अहिले बिचल्ली रहेको छ । थापाले बिस्तारामै दिसापिसाब गर्छन् ।
आमा आफै वृद्ध भएको तथा स्याहार गर्न कठिन भएकोले पालन पोषणको लागि आर्थिक सहयोग तथा कुनै संघसंस्थाले लगेर पालन पोषण गरिदिएमा कल्याण हुने छिमेकी एलबी थापाले बताउनुभयो ।