अर्घाखाँचीमा माओवादी केन्द्रका जिल्ला सदस्य खड्का सहितका नेता एमालेमा प्रवेश

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  नेकपा माओवादी कन्द्रका जिल्ला सम्मेलन आयोजक कमिटी  सदस्य मुनाल खड्का सहित केहि व्यक्ति एमालेमा प्रवेश गरेका छन् । 
मदन आश्रित स्मृति भवन सन्धिखर्कमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  एमाले जिल्ला अध्यक्ष चेतनाायण आचार्य, प्रदेश कमिटी सदस्य नरेन्द्र कुमार क्षेत्री, जिल्ला कमिटी सचिवालय सदस्य जनार्दन खनाल, पिताम्मर भुसाल, तिलक मिश्र, युवराज श्रेष्ठ लगायतका नेताहरुले खड्का सहितका नेताहरुलाई एमालेमा स्वागत गरेका हुन ।
 एमाले प्रवेश गर्नेहरुमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सल्लाहकार विष्णु मिश्र, बाँगी पूर्व गाउँ कमिटी उपाध्यक्ष राजेन्द्र टण्डन, नेकपा माओवादी  क्रान्तिकारीका बागी गाउँ कमिटी उपाध्यक्ष दिपक मिश्र, माओवादी केन्द्रका पार्टी सदस्यहरु धुव्र भुसाल, नारायण प्रसाद मिश्र रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेको घोषणा समेत गरेका छन् ।
 माओवादी पार्टी राष्ट्रियता र जनजीविकाको सवालमा कमजोर भएको निष्कर्ष निकाल्दै एमालेमा प्रवेश गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । एमाले पार्टीमा प्रवेश गरेका खड्काले एमाले राष्ट्रिय स्वाधीनता रक्षा गर्दै जनताको हक हितका लागि लड्ने पार्टी भएकाले एमालेको बिचारबाट प्रभावित भएर प्रवेश गरेको बताउनुभयो । उहाँले अब एमालेको संगठन विस्तार गर्ने काममा कटीबद्ध भएर लाग्ने बताउनु भयो ।
 
खड्का माओवादी जनयुद्ध काल देखि पार्टीको जिल्ला कमिटीमा रहेर काम गर्दै आउनु भएको थियो । उहाँ युद्ध कालमा तिन वर्ष जेल समेत बस्नु भएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले एमालेमा प्रवेश गर्नेहरुको लहर नै चलेको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा एमालेले भारी मतले विजयी हासिल गर्ने दावी गर्नुभयो । उहाँले विभिन्न पार्टीका नेता तहका व्यक्ति एमालेमा प्रवेश गरिरहेको बताउँदै अझै धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको जानकारी गराउनु भयो । 
पाटी प्रवेश कार्यक्रममा जिल्ला कमिटी सदस्य मोतिजङ्ग रायमाझी, सन्धिखर्क विशेष नगर कमिटी सचिव श्रीकृष्ण भुसाल लगायतको आतिथ्यता रहेको थियो ।