अर्घाखाँचीमा कांग्रेस एमालेलाई राष्ट्रिय जनमोर्चाको डर

 फाइल तस्बिर 
सन्धिखर्क, अर्घाखाँची । आगामी २०७४ वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको चहलपहल अर्घाखाँचीमा पनि शुरु भएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीको गृहजिल्ला अर्घाखाँचीको स्थानीय निर्वाचनमा माओवादी केन्द्र चाहिँ कमजोर हुनसक्ने विश्लेषण गर्न थालिएको छ ।
पाँच नम्बर प्रदेश विभाजनविरुद्धको आन्दोलनमा रायमाझीले नेतृत्व गरेपनि स्थानीय निर्वाचनमा माओवादी कमजोर बनेको आँकलन गरिएको छ । रायमाझीले चुनाव जितेको भएपनि कांग्रेस एमालेका मतदाता बढी भएको अर्घाखाँचीका नेताहरू दाबी गर्छन् । 
अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने बताइएको छ । तर कुनै कुनै ठाउँमा चाहिँ कांग्रेस एमालेलाई राष्ट्रिय जनमोर्चाले टक्कर दिने अनुमान गरिएको छ । 
अर्घाखाँचीका तीन नगरपालिकामा कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाको तर्फबाट उठ्न सक्ने उम्मेदवारको बारेमा हामीले यहाँ छलफल गरेका छौं । जिल्लामा रहेका स्थानीय नेताहरूसँगको कुराकानीमा यो सामग्री तयार पारिएको हो ।
अर्घाखाँचीका तीन नगरपालिका
अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट कमल प्रसाद भुसाल, विनोद आचार्य र हुमप्रसाद बन्जाडे मेयर तथा उपमेयरका उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ ।
एमालेबाट कृष्ण प्रसाद श्रेष्ठ, सिद्धिप्रसाद भुसाल र भरत पौडेल उम्मेदवार हुनसक्ने अनुमान गरिएको छ । माओवादीबाट चाहिँ रामबहादुर रायमाझी र केबी भुसाल उम्मेदवार हुने अनुमान गरिएको छ ।
सन्धिखर्क आसपासमा एमाले बलियो भएपनि सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता बढी भएको अनुमान गरिएको छ । कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेसको मत बढी आउन सक्छ । तर यी तीनबीचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने विश्लेषण गरिन्छ ।
अर्घाखाँचीको अर्को नगरपालिका सितगंगा नगरपालिका हो । यहाँ कांग्रेसको तर्फबाट सूर्य अधिकारी र छविलाल पौडेल मुख्य दाबेदारका रूपमा देखापरेका छन् ।
त्यस्तै वसन्त श्रेष्ठ र पीताम्बर सारु चाहिँ एमालेको तर्फबाट उम्मेदवारको रूपमा देखापरेका छन् । माओवादीबाट चाहिँ दिनेश गैरे र भीम केसीको चर्चा गरिन्छ ।
यो नगरपालिकामा पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो । यो नगरपालिकामा पनि कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने चर्चा गरिन्छ । समग्रमा चाहिँ कांग्रेस तुलनात्मक रूपमा राम्रो भएको अनुमान गरिएको छ ।
अर्घाखाँचीको अर्को नगरपालिका भूमिकास्थन हो । यहाँ कांग्रेसबाट खडानन्द बेल्वासे, प्रेम बेल्वासे र गोपाल घिमिरेको चर्चा गरिन्छ । एमालेबाट पीताम्बर भुसाल, प्रेम गैरे र पवित्रा पौडेलको चर्चा गरिन्छ । माओवादीबाट चाहिँ छमकुमारी खनाल र बालकृष्ण बन्जाडेको चर्चा गरिन्छ । त्यस्तै जनमोर्चाबाट सागर केसी, झविलाल थापा र कविराम खनालको नाम चर्चामा छ । 
यो नगरपालिकामा एमालेलाई बलियो शक्ति मानिन्छ । तर यहाँ जनमोर्चा ठूला दललाई टक्कर दिने शक्तिको रूपमा रहेको विश्लेषण गरिएको छ । जनमोर्चाले कांग्रेस वा माओवादीसँग सहकार्य गरेमा चाहिँ एमाले कमजोर हुन सक्छ ।
शुरुका दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भएपनि २०७० सालको निर्वाचनमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका हुन् ।
कांग्रेस नेतृ पुष्पा भुसाल चाहिँ झिनो मत अन्तरले पराजित भएकी थिइन् । २०६४ सालको निर्वाचनमा समेत सांसद बनेका रायमाझीले सालझण्डी ढोरपाटन सडक खण्ड निर्माणमा मुख्य योगदान गरेको र अरू सडकका योजनामा पनि राम्रो भूमिका खेलेपछि उनको माहोल राम्रो बनेको हो । अर्घाखाँचीका हरेक गाउँपालिका र वडाहरूलाई बाटोले छोएको छ ।
त्यसैले रायमाझीले पार्टीको भन्दा पनि व्यक्तिगत भोट पाएको कतिपयले विश्लेषण गर्छन् । उनी जिल्लामा विकासप्रेमी नेताको रूपमा चिनिन्छन् । अर्घाखाँची जिल्लामा एक लाख ३२ हजार चार सय २१ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन कार्यालयले आफ्नो काम दु्रत गतिमा अघि बढाइरहेको छ ।
कार्यालयका कम्प्युटर अपरेटर नारायण बन्जाडेका अनुसार ९३ वटा मतदानस्थल कायम गरिएको छ । मतदानस्थल र मतदाताको अन्तिम टुंगो निर्वाचन आयोगले लगाउनेछ । बन्जाडेका अनुसार जिल्लामा निर्वाचनको माहोल बढिरहेको छ ।
स्रोत: लोकान्तरण डट्कमबाट