सितगंगा नगरपालिकाको सिद्धारामा भैँसी बिक्रीगरी बाख्रापालन तर्फ अग्रसर हुँदै किसान, मनग्य आम्दानी

प्रेम आचार्य
सिद्धारा अर्घाखाँची ।   चिटिक्क परेको सानो घर, घरवरिपरि सफासुग्गर वातावरण, आँगनको छेउमा खलानो र चाङ पनि । घर अगाडीको गोठमा खेलिरहेका बाख्राका  पाठापाठी हेरेर बिना रमाउनुहुन्छ । घरको आँगनमा बसेर गोठका बाख्रा र पाठापाठी खेलिरहेको देख्दा बिना आफूलाई छुट्टै आनन्द भएको सुनाउनुहुन्छ ।  
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका साविक सिद्धारागाविस-२ का स्थानीय बासिन्दा बिना भुसाललाई बाख्राको स्याहार सुसार गर्दा खुशी मिल्छ । ‘मन खुबै खुशी हुन्छ’ उहाँले भन्नुभयो । घरमा रहेको भैँसीसमेत बिक्रीगरी व्यावसायिक बाख्रापालन तर्फ अग्रसर भुसाललाई आफू मात्र हैन सबै गाउँनै बाख्रापालनमा व्यावसायिक बन्नुपर्छ जस्तो लाग्छ । 
व्यवस्थित र व्यावसायिक रुपमा बाख्रा पालन गर्न सके स्वरोजगार तथा मनग्य आम्दानी लिन सकिने उहाँको भनाई रहेको छ । दुई वटा बाख्रा उपहार पाएपछि बाख्रा पाल्न थाल्नुभएकी बिनासँग दुई वर्षमै दश वटा पुगिसकेका छन् । 
सुनौलो स्वावलम्बि समूहकी अध्यक्षसमेत रहनुभएकी बिनाले समूहलाई अब्बल र उदाहरणीय बनाउन निकै लागिपरेको बताउनुभयो । बाख्रा पालनलाई ब्यवस्थित र व्यवसायिक बनाए जस्तै उहाँले समूहलाई पनि त्यसरी नै व्यवस्थित र स्वावलम्बि बनाउन सफल हुनभएको छ । 
मासिक बचत संकलन, सामूहिक काम, लाहुरे स्वागत, नाँचगान आदि कार्य गरी संकलन भएको रकम समूहमा ऋण स्वरुप सस्तो व्याजमा परिचालन गर्ने कामले सदस्यहरुलाई निकै सजिलो भएको छ । मासिक दश रुपैयाँका दरले संकलन गर्न थालिएको समूहमा अहिले एक लाख भन्दा बढी  रकम संकलन भइसकेको छ ।
सामाजिक समस्याहरुलाई छलफल बैठकमा उठान गर्ने र निराकरण गरी समतामूलक समाजमा रुपान्तरण गर्ने काममा आफूहरु लागिपरेको समूहका अध्यक्ष भुसालले बताउनुभयो ।
हेफर इन्टरनेश्नल नेपालको सहयोगमा नेपाल चेतना केन्द्र अर्घाखाँचीद्वारा सिद्धारामा सञ्चालित बाख्रा विकास परियोजनाबाट महिलाको क्षमता विकास तथा आर्थिक विकास सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन भए पश्चात बिना भुसाल जस्ता धेरै महिलाको चेतना विकास भएको हो । 
परियोजना सञ्चालनका निम्ति गठन भएका स्वाबलम्बि समूहहरु मार्फत त्यस क्षेत्रमा विविध गतीविधिहरु सञ्चालन भइरहेका छन् । फलस्वरुप महिलाहरु सामाजिक विकाससँगै आर्थिक विकासको बाटोमा अघि बढ्दै गइरहेका छन् ।
परियोजना सञ्चालनका क्रममा प्राप्त गरेका वस्तु तथा ज्ञानसिपलाई सदुपयोग गर्दै अगाडि बढिरहेका अन्य धेरै समूहहरु अहिले प्रगतिको दिशातर्फ उन्मुख देखिन्छन् ।