अर्घाखाँचीमा चुनावी माहोल तात्दै, कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने, संभावित उम्मेदवारहरु यस्ता छन्

Photo8
अर्घाखाँची जिल्लाको सन्धिखर्क ।
 प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा चुनावी माहोल तात्दै जाँदा संभावित उम्मेद्वारको चर्चा सुरु भएको छ । अर्घाखाँचीका तीन गाउँपालिका र तीन नगरपालिकामा मुख्यतः कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने देखिन्छ । तर केही ठाउँमा माओवादी केन्द्र बलियो छ । 
अर्घाखाँचीमा जनसंख्याको हिसाबले सन्धिखर्क ठूलो नगरपालिका हो । यो नगरपालिकामा कांग्रेसका तर्फबाट कमलप्रसाद भुसाल, हरिबहादुर खड्का,  विनोद आचार्य, हुमप्रसाद बन्जाडे र राधा आचार्य मेयर तथा उपमेयरका उम्मेदवार हुनसक्ने नाम चर्चामा छन । तर मेयरमा कमलप्रसाद भुसाल नै उठ्ने चर्चा चलेको छ ।  कांग्रेस जिल्ला कार्य समितिको सभापति भइसकेका भुसाल नागरिकमा भिजेका नेता भएकोले उहाँले नै टिकट पाउने र चुनाव जित्न सजिलो हुने कांग्रेस नेताहरु बताउँछन् । 
एमालेबाट कृष्णप्रसाद श्रेष्ठ, खुबिराम आचार्य,  सिद्धिप्रसाद भुसाल, भरत पौडेलको नाम चर्चामा छ ।  नेकपा माओवादीबाट ठाकुर बिक, रामबहादुर रायमाझी र केबी भुसाल उम्मेदवार हुने चर्चा छ । 
२०७० सालको परिणाम अनुसार सन्धिखर्कमा एमाले बलियो भएपनि सात गाविस मिलेर बनेको सन्धिखर्क नगरपालिकामा कांग्रेसका मतदाता पनि धेरै रहेको अनुमान छ ।  कांग्रेस, एमाले र माओवादी छुट्टाछुट्टै लडेमा कांग्रेसको मत बढी आउन सक्छ । तर यी तीनबिचमा कांग्रेस र माओवादी वा एमाले र माओवादीको तालमेल हुनसक्ने चर्चा चलेको छ । 
जिल्लाको अर्को नगरपालिका सितगंगा नगरपालिका हो । यहाँ कांग्रेसको तर्फबाट सूर्य अधिकारी, छविलाल पौडेल, नारायण सिंह बेल्बासे र माधव पौडेल मुख्य दाबेदारका रूपमा देखा परेका छन् ।
त्यस्तै बसन्त श्रेष्ठ र पीताम्बर सारु चाहिँ एमालेको तर्फबाट उम्मेदवारको रूपमा देखापरेका छन् । माओवादीबाट  विवेक गैरे, भीम केसी र टीका रेग्मीको नाम चर्चामा छ । अघिल्ला चुनावको मत परिमाण हेर्दा कांग्रेस बलियो देखिएपनि यो नगरपालिकामा कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने देखिन्छ ।  यो नगरपालिका पनि सातवटा साबिकका गाविस मिलेर बनेको हो । 
अर्को नगरपालिका भूमिकास्थन हो । यहाँ कांग्रेसबाट खडानन्द बेल्वासे, प्रेम बेल्वासे र गोपाल घिमिरे र धनीश्वर खनालको नाम चर्चामा छ ।  एमालेबाट पीताम्बर भुसाल, प्रेम गैरे र पवित्रा पौडेलको नाम चर्चामा छ ।  माओवादीबाट  छमकुमारी खनाल र बालकृष्ण बन्जाडेको चर्चा गरिन्छ । त्यस्तै जनमोर्चाबाट सागर केसी, झविलाल थापा र कविराम खनालको नाम चर्चामा छ । यो नगरपालिकामा एमालेलाई बलियो शक्ति मानिन्छ । तर कांग्रेस, माओवादी र जनमोर्चाको प्रतिस्पर्धा हुनेछ । 
दुई नगरपालिकामा कांग्रेसलाई बलियो मानिएको भएपनि २०७० सालको चुनावमा माओवादी र एमालेका उम्मेदवार विजयी भएका थिए । माओवादीका टोपबहादुर रायमाझी र एमालेका दुमनसिंह थापा विजयी भएका हुन् ।
कांग्रेस नेतृ पुष्पा भुसाल चाहिँ झिनो मत अन्तरले पराजित हुनुभएको थियो । अर्घाखाँची जिल्लामा एक लाख ३२ हजार चार सय २१ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन कार्यालयले आफ्नो काम दु्रत गतिमा अघि बढाइरहेको जिल्ला निर्बाचन अधिकृत महेश पाण्डेले बताउनुभयो ।